–अन्जनी कुमार अधिकारी
उदयपुर । नेकपा (एमाले) सम्बद्ध विभिन्न २२ वटा जनवर्गीय संगठनहरूले वर्तमान अन्तरिम सरकारका कदमहरू अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार जनसंगठनका नेता एवम् एमाले पार्टीका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय उदयपुर पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गतेको घटनापछि गठित सरकारले चालिरहेका कदमप्रति गम्भीर आपत्ति जनाइएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।

नेकपा (एमाले) जनवर्गीय समन्वय कमिटी उदयपुरको अगुवाई र सम्बद्ध विभिन्न २२ जनसंगठनहरूले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरेको ज्ञापनपत्रमा भाद्र २३ र २४ गते देशमा विध्वंस मच्चाई आगजनी, तोडफोड, लुटपाट र हिंसाको माध्यमबाट जननिर्वाचित सरकार अपदस्थ गरी असंवैधानिक सरकारको गठन, जननिर्वाचित प्रतिनिधि सभा विघटन जस्ता प्रतिगमनकारी कदम प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको एमाले उदयपुरका उपसचिव समेत रहेका जनवर्गीय समन्वय कमिटी उदयपुरका प्रमुख हेम खडकाले जानकारी दिए ।
ज्ञापनपत्रमार्फत लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुनर्स्थापना, सर्वदलीय/सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रमुख राजनीतिक दल र नेताहरुलाई विभिन्न बहानामा प्रतिशोध साध्ने, स्थानहद तोक्ने, पासपोर्ट रोक्का गर्ने, कथित छानबिन आयोगका नाममा झुटा लान्छना लगाउने, बदनाम गर्ने प्रयास गरिएको भन्दै यसले मुलुकलाई थप द्वन्द र मुठभेडतर्फ धकेल्ने संकेत गरेको ज्ञापनपत्रमार्फत जनाइएको छ ।
जेनजी आदोलनको आवरणमा उदयपुर जिल्लाभित्र विभिन्न राजनीतिक व्यक्तित्वहरूको नीजि घर र राजनीतिक दलहरुका पार्टी कार्यालय र सार्वजनिक सम्पतिमाथि भएको तोडफोड र आगजनीमा संलग्नहरु उपर हालसम्म कुनै कारबाही नभएको विषयप्रति समेत एमाले सम्बद्ध विभिन्न २२ वटा जनवर्गीय संगठनहरूले ज्ञापनपत्रमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउदै दोषी उपर अविलम्ब कारबाही गर्न माग गरेका छन् । उनीहरुले विगत केही दिनदेखि विभिन्न बहानामा सामाजिक सद्भावमा खलल पुर्याउने खालका गतिविधिहरु समेत देशमा देखिएका भन्दै त्यस्ता प्रवृतिलाई निरुत्साहित गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
ज्ञापनपत्रमार्फत तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विनियोजन गरेको विकास निर्माणका योजनाहरु तत्काल कार्यन्वयन गर्न र संविधानको रक्षा गर्दै मुलुकमा देखिएको अनुशासनहीनता र अराजकताको अन्त्य गरी सुशासन र शान्ति सुरक्षाको सुनिश्चिता कायम गरी निष्पक्ष निर्वाचनको वातावरण तयार गर्न समेत जोडदार माग गरेको छ ।
ज्ञापनपत्र बुझाउन एमाले केन्द्रीय सदस्य मन्जुकुमारी चौधरी, एमाले कोशी प्रदेश सचिवालय सदस्य ईश्वरमणि राउत, जिल्ला अध्यक्ष भागवत राउत, एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा सदरमुकाम गाईघाटस्थित पिपल चोकदेखि नारा जुलुससहित जिल्ला प्रशासन पुगेर ज्ञापनपत्र बुझाएको थियो ।















प्रतिक्रिया