काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् ।
बिहीबार कुपन्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा पुराना देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहेको बताए ।
यस्तै, उनले अब कसरी अगाडि बढ्ने भन्ने कुरामा सानो छलफल भएको पनि बताए । उनले भने, ‘एउटा भेटघाटको लागि यहाँ आइपुगेको हो । बालेन ज्यूले देशलाई संकट परेको बेला हामीले जिम्मा लिनुपर्ने बेला आयो जस्तो छ, हामीले जिम्मा लिँदै गर्दा तपाईहरुको साथ हुन्छ कि हुँदैन । के हुन्छ भन्ने खालको उहाँहरुको जिज्ञासा थियो । उहाँले अहिले यसरी सबैसँग छलफल गरिरहेको छ । हाम्रो छलफल अगाडि कसरी जाने भन्ने बारेमा हो ।’
बालेनले अन्तिममा जेनजीहरूसँग छलफलमा गरेका थिए । त्यसअघि बालेनसँगै छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि त्यहाँ पुगेका थिए । साथै, बालेनले यसअघि रवि लामिछाने, कुलमान घिसिङ, सुनिल शर्मा, अमरेशकुमार सिंह लगायतसँग छलफल गरेका थिए ।
बालेन बिहानैदेखि सहयोगी कुमार बेनका कुपण्डोलस्थित निवासमा बसेका थिए । उनी आजका लागि भेटघाट सकेर १४ घण्टापछि बेनको घरबाट बाहिरिएका हुन् ।








प्रतिक्रिया