काठमाडौं । बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यही पुस ११ गते शुक्रबार लघुवित्त सदस्य सम्मेलन हुन लागेको जानकारी दिएको हो ।
मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले गर्ने आयोजकले बताएको छ ।
“स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा बागमती प्रदेशमा केन्द्रीय कार्यालय रहेका लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको सहभागिता रहने जानकारी आयोजनाको संयोजक समेत रहेकी मानुषी लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले दिइन् ।
विगतमा यस्तो सम्मेलन राष्ट्रियस्तरमा आयोजना हुने गरेको भए पनि प्रदेशस्तरमा पहिलोपटक हुन लागेको आयोजकले बताएको छ ।
लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी तथा प्रभावकारी बनाउने अभिप्रायले आयोजना हुने सम्मेलनको मुख्य उद्देश्य लघुवित्तको मूल मर्म र भावना अनुरुप विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउने रहेको छ भने ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रुपमा लघुवित्त कार्यक्रमलाई अझै प्रभावकारी बनाउने वातावरण सिर्जना गर्ने तथा युवा सदस्यहरुलाई उद्यमशीलताको विकासतर्फ प्रोत्साहित गर्नुका साथै सवै सरोकारवालाहरुलाई जिम्मेवार र उत्तरदायी बनाउँदै दिगो लघुवित्त अभ्यासको प्रवर्द्धन गराउने लक्ष्य आयोजकले लिएको छ ।
सम्मेलनले लघुवित्त सदस्यहरु बीचमा अनुभव आदानप्रदान भई आपसी समझदारी र सहकार्य बढ्ने तथा ज्ञान तथा सिकाइ अभिवृद्धि हुनुका साथै लघुवित्त क्षेत्रको दिगो विकास, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक वृद्धिका लागि महत्वपूर्ण योगदान दिने आयोजकले अपेक्षा लिएको छ । सम्मेलनले पछिल्लो समय विद्यमान लघुवित्तप्रतिको नकारात्मक सोचलाई परिवर्तन गर्न पनि भुमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।








प्रतिक्रिया