२५ जेष्ठ २०८३, सोमबार

गृहमन्त्रीलाई मुख्यमन्त्रीको सुझाव– निर्वाचन गराउने हो भने दलहरुसँग सघन छलफल गर्नुहोस्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनीतिक दललाई पाखा राख्ने सोच त्याग्न सुझाव दिएका छन् । उनले निर्वाचनको विषयमा अझै संशयमा भन्दै दलहरूबीचको सहमतिले मात्र निर्वाचनको वातावरण बन्ने धारणा राखे ।

आजदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कँडेलले सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण अझै तयार नभएको समेत दाबी गरे ।

मुख्यमन्त्री कँडेलले निर्वाचनका सन्दर्भमा भयरहीत वातावरण र सुरक्षा प्रमुख विषय रहेको भन्दै भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्थाले भयरहीत वातावरण बन्न नसकेको बताए । उनले सुरक्षा अवस्था पहिलेको जस्तो नरहेको र सुरक्षाकर्मीमा समेत मनोवैज्ञानिक त्रास रहेको भन्दै निर्वाचनको वातावरण बनाउन सुरक्षाकर्मी त्रसित मनोविज्ञानबाट मुक्त हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘यहाँ व्यक्त नभए पनि सुरक्षाकर्मी साथीहरु एकप्रकारले मनोवैज्ञानिक रुपमा त्रसित हुनुहुन्छ, उहाँलाई दिइएको हतियार परिआएमा प्रयोग गर्ने वा नगर्ने द्विविधा हुनुहुन्छ यस्तो अन्यौल अवस्थामा निर्वाचनको वातावरण कसरी बन्न सक्ला ?’

मुख्यमन्त्री कँडेलले निर्वाचनका सन्दर्भमा दलहरुबीच नै सहमति नभएकोले अन्यौल रहेकोले सरकारले दलीय सहमतिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले निर्वाचनको बुथमा रहने ४ जना प्रहरीको भरमा मतदान केन्द्रको सुरक्षा कसरी हुन्छ भन्दै सबै दलले भागलिने परिस्थिति बन्न सके मात्र निर्वाचन सम्भव हुने बताए ।

मुख्यमन्त्री कँडेलले प्रमुख दलका शीर्ष नेतालाई स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताउँदै यस सम्बन्धमा सरकारले तत्काल निर्णय गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘दलीय व्यवस्थामा दललाई पाखा राखेर निर्वाचनको वातावरण सम्भव छैन । निर्वाचन गराउने हो भने दलहरुसँग सघन छलफल गर्नुहोस् ।’

मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरुसँग गरेको संवादलाई सकारात्मक रुपमा लिनुपर्ने र यस्तो संवाद र छलफलले मात्र मुलुकलाई निर्वाचनमा लैजान सकिने बताए ।

जेनजीका नाममा समाजमा कतिपय आतंक सृजना गरिएको बताउँदै मुख्यमन्त्री कँडेलले कानून उल्लघंन गर्ने जोकोहीलाई पनि दण्डित गर्ने अवस्था नरहे शान्ति सुरक्षा बनावटी मात्र हुने धारणा राखे । उनले भने, ‘भदौ २३ गते युवाहरुले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागप्रति कसैको विमति छैन तर २४ गते भएको विध्वंस र आगजनी गर्नेमाथि कारबाही नभएसम्म शान्ति सुरक्षाप्रति विश्वस्त हुने अवस्था छैन ।’

मुख्यमन्त्री कँडेलले आगजनी र लुटपाटमा संलग्नमाथि सरकारले नै कारबाही नगर्न सुरक्षा निकायमाथि गरेको दबाबप्रति असन्तुष्टी जनाए ।

मुख्मन्त्री कँडेलले कर्णाली राजमार्गमा बढदो सवारी दुर्घटना, लागु पदार्थको दुर्व्यसन जस्ता विषयमा यहाँका सुरक्षा निकायले कडाईका साथ नियन्त्रण गर्नुपर्ने धारणाा राखे । उनले कर्णालीमा सुरक्षाकर्मीहरूको पूर्वाधार र साधन स्रोतको अवस्था दयनीय रहेकोले पनि शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई परेको अप्ठयारोप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए ।