२१ जेष्ठ २०८३, बिहिबार

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर सरकारी सेवामा प्रवेश गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत गिरीले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको जिकिरसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गिरीले सुरक्षा निकायमा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर विभिन्न ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरी अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

गिरीले सन् १९८८ मा बिहार स्कुल एग्जामिनेसन बोर्ड, पटना, इन्डियाबाट एसएलसीको शैक्षिक योग्यता (मार्क सिट Roll Code 5501/Roll No718) हासिल गरेको भनेर बुझाएका थिए ।

तर उक्त शैक्षिक प्रमाणपत्र सम्बन्धमा बिहार विद्यालय परीक्षा समिति, पटनाबाट अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको छ भन्ने व्यहोरा उल्लेख भई आएकोले एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र नक्कली देखिएको उनले बताए ।

साथै सोही नक्कली सर्टीफिकेट प्रयोग गरेर मिति २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ तथा मिति २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट ब्याचलरको सर्टीफिकेट लिएका थिए । सोही शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेस गरी २०५२ पुस÷१६ मा नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा सुरुमा नियुक्ती लिई तिनै झुट्टा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी हालको प्रहरी बरिष्ठ उपरीक्षक पदमा समेत बढुवा लिएको साथै बिभिन्न तालिम र सुविधाहरु लिएको अख्तियारले जनाएको छ ।

गिरीले नेपाल प्रहरीको पदमा नियुक्ति भई ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी गरि मुद्दा दायर गरिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।