काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा र परोपकारजस्ता विविध क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसै नीति अनुरूप बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासको कार्तिक र मंसिर महिनामा विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ।
सोही क्रममा बैंकले जेष्ठ नागरिक चौतारी, ठेचो, ललितपुरमार्फत सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर सञ्चालन तथा नसर्ने रोगको रोकथामसम्बन्धी कार्यशाला आयोजना गर्न आर्थिक सहयोग गरेको हो।
त्यसैगरी, भदौ महिनामा भएको आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य सहज बनाउन बैंकले ५ थान कम्प्युटर सेट र ५ थान टेबल प्रदान गरेको छ।
साथै, हुम्ला जिल्लाको सदरमुकाम सिमकोटदेखि ४४ कोष दक्षिण–पूर्वमा अवस्थित अदानचुली गाउँपालिका वडा नं. १ का दलित समुदायमा रहेका हलिया, लगी तथा खलोका रूपमा जीविकोपार्जन गर्दै आएका विपन्न वर्ग, अनाथ बालबालिका, एकल महिला तथा एकल पुरुषलाई खाद्यान्न सहयोग पुर्याउने उद्देश्यले एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट, हुम्लालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागलुङ जिल्लाका भुकृटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापा जिल्लाका श्री पृथ्वी माध्यमिक विद्यालय, श्री अरनिको माध्यमिक विद्यालय तथा श्री गणेश सूर्य आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूलाई सुरक्षित र सहज शौचालय सुविधा उपलब्ध गराउने उद्देश्यले आधुनिक शौचालय निर्माणका लागि विभिन्न रोटरी क्लबहरूमार्फत बैंकले आर्थिक सहयोग गरेको हो।
यसैगरी, बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययनरत १८० जना विद्यार्थीलाई जाडोबाट बचाउन १८० थान न्यानो कपडा वितरण गरिएको छ। त्यस्तै, गोरखा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मुनलाईट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा शैक्षिक सामग्री वितरण गरिएको छ।
बैंकले सञ्चालन गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।









प्रतिक्रिया