काठमाण्डौ । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।
कम्पनीले शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।
जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको एन.पि.आई. नारायणी सामुदाकि हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूहअन्तर्गतको ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ । थप सेवा विस्तारको लागि निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी गराए ।
हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको एन.पि.आई. नारायणी सामुदाकि हस्पिटलको स्थापना वि.सं. २०६३ मा भएको र हाल यसको वार्षिक कारोबार १.१५ अर्ब रहेको जानकारी कम्पनीले जनाएको छ । साथै, हाल संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।
आइतबार भएको सम्झौतामा एन.पि.आई. नारायणी सामुदायिक हस्पिटलको तर्फबाट कम्पनीका सञ्चालक चुडामणी खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया