काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै नेता ज्ञवालीले हिजो अस्तिका दुई दृश्यले आँखा बिझाएको टिप्पणी गर्दै पूर्वराष्ट्रपतिलाई आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको भन्दै प्रश्न गरे ।
पत्रकार ऋषि धमलासँगको एक अन्तरवार्तामा पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र पुनर्स्थापनाको सम्भावना जीवितै रहेको र पूर्वराजा ज्ञानेन्द्र शाह पुनः राजा बन्नसक्ने बताएकी थिइन् ।
नेता ज्ञवालीले पार्टीको ११ औं महाधिवेशन सकिएलगत्तै केहीले गरेको छुट्टै भेलाप्रति पनि टिप्पणी गरे ।
‘महाधिवेशन सकिएलगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै’ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन ।’ ज्ञवालीले फेसबुकमा लेखेका छन्, ‘एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो– केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ ।’
उनले अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ नपुगिने स्पष्ट पारे ।
‘तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर्याएका छौँ । तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ । अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ?’ नेता ज्ञवालीले भने ।









प्रतिक्रिया