२१ जेष्ठ २०८३, बिहिबार

प्रदूषणका कारण भारत र दक्षिण अफ्रिकाबीचको चौथो टी–२० खेल रद्द

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत । भारत र दक्षिण अफ्रिकाबीचको पाँच खेलको टी–२० शृंखला अन्तर्गत लखनउमा हुने तय भएको चौथो खेल रद्द भएको छ । बुधबार साँझ लखनउमा प्रदूषणका कारण बाक्लो हुस्सु र धुवाँ हुँदा खेल एक बल पनि नफ्याँकी रद्द भएको छ ।

खेलको टस साँझ ६ः३० बजे हुने तालिका थियो। तर, मौसम प्रतिकूल भएपछि टस समेत हुन सकेन । अम्पायर रोहन पण्डित र केएन अनन्थ पद्मनाभनले पटक–पटक मैदानको निरीक्षण गरे । साँझ ६ः५०, ७ः३०, ८ः००, ८ः३० र ९ः०० बजे गरी पाँच पटकसम्म मैदानको निरीक्षण गरियो ।

अन्तिम पटक राति ९ः२५ बजे गरिएको निरीक्षणपछि पनि ‘भिजिविलिटी’मा सुधार नआएपछि म्याच रेफ्री र अम्पायरहरूले खेल रद्द गर्ने निर्णय लिएका हुन् ।

लखनउको वायु गुणस्तर सूचकांक (एक्युआई) निकै खराब स्थिति ४०० को हाराहारीमा रहेको थियो । मैदानमा भारतीय अलराउन्डर हार्दिक पाण्ड्या मास्क लगाएर उपस्थित भएका थिए ।

यो खेल रद्द भएसँगै ५ खेलको शृंखलामा भारतले २–१ को अग्रता कायमै राखेको छ । चौथो खेल रद्द भएपछि अब भारतले शृंखला गुमाउने खतरा टरेको छ ।

अब शृंखलाको पाँचौं तथा अन्तिम खेल अहमदाबादमा हुनेछ । अन्तिम खेलमा भारत विजयी भए शृंखला जित्नेछ भने दक्षिण अफ्रिकाले जितेमा शृंखला २–२ को बराबरीमा सकिनेछ ।

हिजोको खेल दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डि ककका लागि विशेष थियो । उनी आफ्नो १००औं टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै थिए र उनको जन्मदिन समेत थियो ।

तर, खराब मौसमका कारण खेल हुन नसक्दा उनको यो कोसेढुङ्गा खेल मैदानमा उत्रिन नपाइ टुंगिएको छ ।