५ श्रावण २०८३, मंगलबार

अष्ट्रेलियाको बोन्डी तटमा गोली चल्दा दश जनाको मृत्यु, दर्जन बढी घाइते

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार सिड्नीको बोन्डी समुद्र तटमा बन्दुकधारीहरूले गोली चलाउँदा दश जनाको मृत्यु भएको छ भने करिब एक दर्जन घाइते भएको अष्ट्रेलियाली अधिकारीहरूले बताएका छन् ।

गोलीबारीपछि करिब एक दर्जन व्यक्तिलाई स्थानीय अस्पतालमा लगिएको न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले बताएका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनालाई ‘स्तब्ध पार्ने र पीडादायी’ भनेका छन् । ‘आपतकालीन उद्धारकर्ताहरू जमिनमा छन् र जीवन बचाउन काम गरिरहेका छन् ।’ उनले भने । ‘मैले जमिनमा कम्तिमा १० जना मानिस र जताततै रगत लतपतिएको देखेँ,’ गोलीकाण्डका प्रत्यक्षदर्शी ३० वर्षीय स्थानीय ह्यारी विल्सनले उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले उल्लेख गरेको छ ।

प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । इजरायली राष्ट्रपति इसाक हर्जोगले समुद्र तटमा हनुक्का बिदाको पहिलो मैनबत्ती बाल्न गएका यहूदीहरूमाथि ‘नीच आतंककारीहरू’ ले आक्रमण गरेको टिप्पणी गरेका छन् । अक्टोबर २०२३ मा गाजामा इजरायलको युद्ध सुरु भएदेखि नै अष्ट्रेलियाले यहूदी विरोधी हमलाहरूको शृङ्खला भोगिरहेको रोयटर्सले उल्लेख गरेको छ ।

इजरायली विदेशमन्त्री गिडियन सारले गोलीबारीबाट आफू स्तब्ध भएको बताएका छन् । विश्वको सबैभन्दा प्रसिद्ध समुद्र तटहरू मध्ये एक बोन्डी तट सामान्यतया स्थानीयहरू र पर्यटकहरूले भरिएको हुन्छ ।

सामाजिक सञ्जाल एक्समा प्रसारित भिडियोहरूमा समुद्र तट र नजिकैको पार्कमा मानिसहरू छरपस्ट भएको देखिन्छ । जहाँ धेरै गोली चलेको आवाज र प्रहरी साइरनहरू सुनिएको छ । एउटा भिडियोमा कालो शर्ट लगाएका एक व्यक्तिले ठूलो हतियारले गोली चलाएको देखाइएको रोयटर्सले जनाएको छ । समाचार अनुसार यसपछि सेतो टी–शर्ट लगाएको एक व्यक्तिले उसलाई पक्रेर उसको हतियार खोसेको देखाइएको थियो । अर्को एक व्यक्तिले पैदल यात्री पुलबाट हतियारले गोली चलाएको देखाइएको छ ।