१ श्रावण २०८३, शुक्रबार

भारतमा रहेका मेस्सीले २२ मिनेटमै रंगशाला छाड्नुपर्‍यो, फ्यानहरूले कुर्सी र बोतलहरू फ्याँके

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्जेन्टिनाका महान फुटबल खेलाडी लियोनल मेस्सी १४ वर्षपछि शनिबार तीनदिने भारत भ्रमणमा आएका छन् ।

मेस्सीसँगै उरुग्वेका लुइस स्वारेज र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पल पनि कोलकाता आएका हुन् । जहाँ मेस्सीले आज बिहान ११ बजे आफ्नो ७० फिट अग्लो प्रतिमाको भर्चुअल रूपमा उद्घाटन गरे । बलिउड अभिनेता शाहरुख खान पनि उपस्थित थिए ।

यसैबीच, मेस्सीको कोलकाताको छोटो भ्रमण शनिबार साल्ट लेक रंगशालामा अराजकतामा परिणत भयो । जब क्रोधित फ्यानहरूले फुटबलर मेस्सीको एक झलक हेर्न सकेनन्, तिनीहरूले सुरक्षा नियमहरू तोडेर मैदानमा प्रवेश गरे ।

शनिबार बिहान कोलकाताको साल्ट लेकस्थित युवा भारती क्रिरंगन रंगशालामा फुटबल लिजेन्ड मेस्सीलाई हेर्न फ्यानहरू भेला भएका थिए ।

मिडिया रिपोर्टका अनुसार, आफ्ना स्टार मेस्सीको एक झलक हेर्न रंगशालामा आएका फ्यानहरू उनलाई देख्न नपाउँदा रिसले चूर भएका थिए । बिहानैदेखि फ्यानहरू मेस्सीको प्रतीक्षामा थिए । जब ​​मेस्सी मैदानमा प्रवेश गरे, उनको अगाडि उभिएका फ्यानहरूले मुस्किलले उनलाई देख्न पाए, किनकि आयोजकहरूको भीडले उनलाई चारैतिरबाट घेरेको थियो।

रंगशालामा टिकट काटेर कुर्सीमा बसेका दर्शकहरूलाई मेस्सीलाई हेर्ने मौका दिइएन । त्यसपछि फ्यानहरू आक्रोशित भए, र केही यति क्रोधित भए कि उनीहरू सुरक्षा घेरा तोडेर मैदानमा पुगे ।

कडा सुरक्षाबीच मेस्सी रंगशालाबाट बाहिर निस्कँदा दर्शकहरूले धैर्य गुमाए र कुर्सी, बोतल र पोस्टरहरू फ्याँक्न थाले । रंगशालाभरि ठूलो स्वरमा नाराबाजी गुन्जियो ।

मेस्सीले रंगशालामा फुटबलमा केही ड्रिब्लिङ गर्ने, वा कम्तिमा स्पष्ट रूपमा देखिने वा केही शब्द बोल्ने अपेक्षा गरिएको थियो । मेस्सी गएका केही मिनेटपछि भीड रंगशालामा भरियो र रंगशाला भित्र बनाइएका संरचनामा क्षति पुर्‍यायो ।

रंगशालामा अराजकताका देखिएसँगै मेस्सीले २२ मिनेटमै मैदान छोडेका थिए । परिस्थिति बिग्रँदै जाँदा र्‍यापिड एक्सन फोर्स तैनाथ गर्नुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ट्वीट गर्दै मेस्सी र सबै खेलप्रेमीहरूसँग यो दुर्भाग्यपूर्ण घटनाको लागि माफी मागेकी छिन् । उनले कोलकातामा मेस्सी कार्यक्रममा भएको अव्यवस्थाबाट आफू स्तब्ध भएको र घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको बताइन् । उनले घटनाबाट आफू दुःखी भएको र यसको लागि माफी मागिन् ।