बारा । बाराको सिमरास्थित त्रिभुवन राजमार्गमा मंसिर ४ गते भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षीय जितेन्द्र प्रसाद रौनियारको उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवारजनले प्रहरीले घटनापछि अपनाएको सुस्तता, उदासीनता र लापरवाहीप्रति कडा आपत्ति जनाएका छन्।
विपरीत दिशाबाट लापरवाहीपूर्वक आएको ना.३ च ३६४५ बसले ठक्कर दिँदा रौनियार गम्भीर घाइते भएका थिए । तर घटनामा संलग्न सवारी चालक अहिलेसम्म पनि फरार रहँदा प्रहरीले खोजी र पक्राउ प्रक्रियामा देखाएको ढिलाइप्रति परिवारले गम्भीर प्रश्न उठाएका हुन् । परिवारका सदस्यहरूका अनुसार, “दुर्घटनापछि तत्काल कारबाही सुरु गर्नुपर्ने प्रहरी सडकमा घुमफिर मात्र गर्दै बस्यो, तर दोषी चालकको पहिचान र पक्राउमा कुनै सक्रियता देखाएन । प्रहरीको यस्तै लापरवाहीले अपराधीहरू हौसिन्छन् ।”
घाइते रौनियारलाई स्थानीय अस्पताल हुँदै नेपाल मेडिसिटी बयोधा अस्पताल, वीरगन्ज लगिएको थियो । तर, उपचारको क्रममा सोमबार बिहान ९ बजे उनको मृत्यु भयो । मृतकका परिवारले चालकको खोजी, घटनाको निष्पक्ष छानबिन, कानूनी कारबाही र उचित क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा लिखित रूपमा माग प्रस्तुत गरेका छन् ।
ज्ञापन–पत्रमार्फत परिवारले गम्भीर घाइते अवस्थामा पनि एम्बुलेन्स व्यवस्थापनदेखि उपचार प्रक्रिया सम्म राज्य संयन्त्रले देखाएको निर्लज्ज लापरवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । परिवारले चेतावनी दिँदै भनेका छन्, “दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही नगरेसम्म हामी शान्तिपूर्ण संघर्ष जारी राख्छौं । प्रहरीले ढिलाइ र बेवास्ता गर्ने प्रवृत्ति तत्काल सुधारिनुपर्छ ।”








प्रतिक्रिया