काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’को ट्रेलर रिलिज गरिएको छ । आज ललितपुरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक प्रदीप शाहीसँगै चलचित्रका सम्पूर्ण मुख्य पात्रहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी लगाएतको उपस्थिति रहेको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसीले आफ्नो व्यस्तताको समयमा पनि टिम र चलचित्रको विषयवस्तु मन परेर काम गरेको बताए । निर्देशक शाहीले टेक्निकल र अन्तररास्ट्रीय रुपमा नेपाललाई चिनाउने गजबको सिनेमा ‘एक्लो’ बनाएको भन्दै प्रशंसा समेत गरे ।
यो फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । उनी अन्तिम संस्कार र गोर्खा ब्रिनिथ द ब्रेभरी जस्ता फिचर फिल्म निर्देशन गरिसकेका अनुभवी निर्देशक हुन् ।
कार्यक्रममा बोल्दै शाहीले पूर्वीय आध्यात्मिक परम्परालाई आफूले पश्चिमा जनराका तत्वसँग मिश्रण गरेको बताए ।
काभ्रेको पनौती र हिमालपारिको जिल्ला मुस्ताङमा फिल्म छायांकन गरिएको छ । यो फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्ष यात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रासल्यान्डिङ गर्छन् । तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । त्यसपछि उनीहरूको अगाडिको कथा सुरु हुन्छ । बाँकी कथालाई दोस्रो अध्यायमा देखाउने जानकारी निर्देशक शाहीले दिए ।
विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करणमा नेपाली फिल्म ‘एक्लो’ले विभिन्न कार्यक्रममा सहभागिता जनाएको थियो । कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्द्धन गरेको थियो ।
डिसेम्बर २८ तारिखको दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ‘एक्लो’को प्रिमियर हुने तय भइसकेको छ ।
साइन्स फिक्सनमा आधारित ‘एक्लो’ आगामी पुस १७ गतेदेखि नेपालसहित विश्व बजारमा प्रदर्शनमा आउने तयारीमा छ । निर्देशक प्रदीप शाही बेलायतमा बसेर फिल्म निर्माणमा सक्रिय छन् र ‘एक्लो’ उनको तेस्रो निर्देशन हो । हलिउडस्तरको भिजुअल, प्रविधि र कथा प्रस्तुत गर्ने लक्ष्यसहित उनी यो फिल्म निर्माणमा जुटेका हुन् ।
प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय रहेको छ । साथै, बेलायती अभिनेता जेमी बेकनको समेत महत्वपूर्ण भूमिका समावेश गरिएको छ ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । छायाङ्कन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ले सम्हालेका छन् ।








प्रतिक्रिया