३१ असार २०८३, बुधबार

प्रभात र स्मारिका अभिनित ‘मुगलान’को ट्रेलर रिलिज

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज भएको छ । बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत रिलिज गरेको हो ।

२ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ । कथाले विसं २०५२ सालपछिको सरकार र तत्कालिन विद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको ट्रेलरमा देख्न सकिन्छ ।

मुखियाको ऋण तिर्नका लागि मुगलान भाँसिएका प्रभात पाल फर्किएर आउँदा घर रित्तो देख्छन् । उसका बुबा आमा छैनन् । के भएर उनीहरु छैनन्, कसैले मारेकी कि या अपहरणमा पारियो भन्ने कुरा भने फिल्म हलमा चलेपछि नै थाहा होला ।

ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रभात पाल, अभिनेत्री स्मारिका ढकाल प्रेमीप्रेमिका रहेको र बिछोडको कथा पनि ट्रेलरमा देख्न सकिन्छ । प्रभात पाल, स्मारिका ढकालका अलवा ट्रेलरमा रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खबपु लगायतलाई देख्न सकिन्छ ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा अन्य कलाकार श्री शिवांशु, मोती सुबेदी,राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलाई पनि देख्न सकिन्छ ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन् । फिल्मको को–प्रोड्युसर रिता चौधरी हुन् ।

फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी)को छ । गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) रहेका छन् । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।

यस फिल्मका ट्रेलर, टिजर तथा गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत हेर्न सकिने निर्माण पक्षले जानकारी दिएको छ ।