काठमाडौं । नेकपा (एमाले)ले १० औं महाधिवेशनपछि सशक्त रुपमा कार्यकर्तालाई वैचारिक, सैद्धान्तिक, संगठनात्मक, सामाजिक रुपमा प्रशिक्षित गर्नका लागि पार्टी स्कूल विभागलाई सक्रिय गरायो । नेता कार्यकर्तामा वैचारिक विचलन, आफूले आदर्श मानेको मार्क्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादका बारेमा कतिपय नेताहरुमै आधारभूत ज्ञान नहुँदा नयाँ कार्यकर्तालाई विचारले प्रभावित पार्ने विषय कमजोर भएकोले यो विभागलाई थप सक्रिय बनाइएको एमालेले जनाएको छ ।
महाधिवेशन सकिएको ३ महिनापछि १९ माघ २०७८ मा उपमहासचिव प्रदीप ज्ञवालीलाई यस विभागको प्रमुख बनाउने निर्णय एमालेले गरेको थियो । ज्ञवालीका अनुसार चार वर्षको अवधीमा विभिन्न तहका ७ हजार ७ सय ८३ जना नेता कार्यकर्तालाई प्रशिक्षित गरिएको छ ।
स्कूल विभागले तयार गरेको प्रतिवेदन अनुसार प्रशिक्षणमा जनसंगठनदेखि प्रवाससम्म जनप्रतिनिधिदेखि नवप्रवेशीसम्मका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको उल्लेख छ । प्रतिवेदन अनुसार चार वर्षको अवधिमा जनसंगठनतर्फ ६२५, प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण ४०८, स्थानीय तहका जनप्रतिनिधि ६५६ जनालाई प्रशिक्षण दिइएको छ ।
यस्तै, नवप्रवेशी २५०, जिल्ला तहका नेता कार्यकर्ता ५ हजार ४ सय २६, वित्त तथा कोष व्यवस्थापन ५६, भारत प्रवास ५६ जनालाई प्रशिक्षित गरिएको छ । ‘यस बीचमा हामीले हुम्लादेखि पाँचथरसम्म, झापादेखि कञ्चनपुरसम्म गरी ६६ वटा भौगोलिक प्रशिक्षकहरु सञ्चालन गर्यौं’ ज्ञवालीले भने, ‘हामीले ३/४ दिनका कार्यशाला, अन्तरक्रियात्मक शैली, अनुभवी र विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइएको हुनाले धेरै कार्यकर्ताहरुले पार्टीको आधारभुत सिद्धान्त र मान्यताका बारेमा स्पष्ट हुनुभएको छ ।’
विभागका सचिव घनश्याम कोइरालाका अनुसार पार्टी केन्द्रको स्कूल विभागले माध्यमिक तहको प्रशिक्षण सञ्चालन गर्ने गरेको छ । विभागले उत्पादन गरेका प्रशिक्षकहरु प्रदेश, जिल्ला र स्थानीय तहहरुले आयोजना गर्ने प्रशिक्षणका काम गरिरहेका छन् ।
‘हामीले बृह्त्तर रुपमा प्रशिक्षणको काम अघि बढाएका हौँ । केन्द्रले प्रशिक्षक उत्पादन गर्ने, प्रदेश र जिल्ला र स्थानीय तहले उनीहरुमार्फत सम्बन्धित तहका कार्यकर्तालाई पार्टी, समाज, देश र विदेशका बारेमा थाहा पाउन मद्धत गरिरहेका छन् ’ कोइरालाले भने ।
विभागले सातै प्रदेशमा स्थायी स्कूल सञ्चालन गर्ने तयारी गरेको छ । जसअनुसार केन्द्रको स्कूल विभाग मदन आश्रित स्मृति भवन गोठाटारमा, कोशीमा मदन भण्डारी स्मृति प्रतिष्ठान इटहरामा, मधेशको मदन आश्रित स्मृति भवन लालबन्दीमा, गण्डकीको पुष्पलाल स्मृति प्रतिष्ठान पोखरामा, लुम्बिनीको नेपालगञ्ज, देउखुरी र बुटवलमा र सुदूरपश्चिमको कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यलयमा स्थायी स्कूलको संरचना तयारी थालेको छ । विभागले आधारभूत तहको पाठ्यक्रमका लागि समृद्धि सोपान स्रोत पुस्तक पनि तयार गरेको छ ।









प्रतिक्रिया