काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनको क्रममा निर्वाचन आयोगको कार्यालय क्षति हुनबाट जोगाउने सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरब गुल्म काठमाडांैलाई निर्वाचन आयोगले सम्मान गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरब गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश कोइरालालाई सम्मान गरेका हुन् ।
भाद्र २४ गते काठमाडौं महानगरपालिका–२७ कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यलयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालिन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीहरुलाई अगाडी बढ्न नदिई मुख्य गेटको केही भित्र रोकी सम्झाई बुझाई गरेको थियो ।
त्यति गर्दा समेत भिड थप आक्रोशित भएपश्चात उक्त टोलीले सामान्य बल प्रयोग गरी भिडलाई तितर वितर पारेर उत्पन्न परिस्थितीलाई नियन्त्रणमा लिई आयोग क्षति हुनबाट जोगाएको बताइएको छ ।
निर्वाचन आयोग परिसरमा रहेको र हालै गणमा स्तरोन्नति भएको सशस्त्र प्रहरी बल, नेपाल नं.१८ बाघभैरब गणले फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई मध्य नजर गर्दै निर्वाचन सम्बन्धी दल दर्ता, दल दर्ता प्रमाण–पत्र वितरण लगायतका विभिन्न गतिविधि एवं आयोग परिसरको निरन्तर रुपमा सुरक्षा प्रदान गर्दै आईरहेको सशस्त्र प्रहरीले बताएको छ ।
सम्मान कार्यक्रममा आयोगका आयुक्त डा.जानकी तुलाधर, सचिव माहादेव पन्त, प्रवक्ता सह–सचिव नारायण प्रसाद भट्टराई लगायत आयोगका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।








प्रतिक्रिया