काठमाडौं । नेपाली कांग्रेसको करिब साढे ७ लाख नयाँ क्रियाशील सदस्यता फारम जिल्ला तहमा पुगेको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सुरूआतमा विद्यमान क्रियाशील सदस्यको २५ प्रतिशत र अहिले ७५ प्रतिशत सदस्यता फारम जिल्ला तहमा पुगेको हो ।
१६५ निर्वाचन क्षेत्रमध्ये मंगलबारसम्म १९ वटाले थप नयाँ फारम लान बाँकी रहेको कार्यालयले जानकारी दिएको छ । बुधबारसम्म यो संख्या १० मा झर्ने अपेक्षा गरिएको बताइएको छ ।
कांग्रेसले गत असारको केन्द्रीय समिति बैठकबाट विद्यमान क्रियाशील सदस्यको अनुपातमा २५ प्रतिशत नयाँ क्रियाशील सदस्यता बाँड्ने निर्णय गरेको थियो । त्यसअनुसार नवीकरण फारमसँगै हरेक निर्वाचन क्षेत्रमा २५ प्रतिशत बढाएर नयाँ सदस्यता फारम पठाइसकेको थियो ।
तर, मङ्सिर १५ गते सम्पन्न केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यको अनुपातमा शतप्रतिशत नयाँ सदस्यता बाँड्ने निर्णय गरेपछि थप सदस्यता फारम पठाइएको हो । निर्वाचन क्षेत्रले तोकेका प्रतिनिधिले केन्द्रीय कार्यालयबाट फारम बुझेर लगिरहेका छन् ।
चितवन, झापा जस्ता धेरै क्रियाशील रहेका जिल्लाले नयाँ सदस्यता फारम कम लगेका कार्यालयले जनाएको छ । पूर्वी नवलपरासीले भने नवीकरण फारमसँगै पठाएको २५ प्रतिशतबाहेक नयाँ क्रियाशील सदस्यता फारम लगेको छैन ।
झापा– ३ का सभापति गणेशप्रसाद पोखरेलले विगतमा ल्याएका क्रियाशील सदस्यता फारम वितरण भइरहेको छ । थप सदस्यता फारम आवश्यक हुने/नहुने क्षेत्रीय समितिको बैठकपछि निर्णय हुने उनले बताए ।








प्रतिक्रिया