२० जेष्ठ २०८३, बुधबार

दोस्रो इन्टर-बैंक फुटसल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ हिमालयन र महिलातर्फ नबिल विजेता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सिद्धार्थनगर समितिद्वारा आयोजित दोस्रो इन्टर–बैंक फुटसल प्रतियोगिता–२०८२ बुटवलको योगिकुटिस्थित स्वर्णिम फुटसलमा भव्य रूपमा सम्पन्न भएको छ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ हिमालयन बैंक विजेता बन्दै ७५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने राष्ट्रिय वाणिज्य बैंक उप–विजेता बन्दै ५० हजार रुपैयाँ नगद प्राप्त गर्‍यो। महिलातर्फ नबिल बैंक विजेता बन्दा एनआइसी एसिया बैंक उप–विजेता बनेको छ । जहाँ महिलातर्फ विजेताले २५ हजार रुपैयाँ र उप–विजेताले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

“एकता, खेल भावना तथा वित्तीय सचेतना” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा २४ पुरुष र ६ महिला टोलीको सहभागिता रहेको थियो। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई जनही ५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने क्वार्टरफाइनलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याच पुरस्कार वितरण गरिएको थियो।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूबाट एक गोलरक्षक, एक स्ट्राइकर र तीन अल–राउण्डरसहितको ‘ड्रीम फाइभ’ टोली एम्पायर प्यानलले छनोट गरी घोषणा गरेको थियो। प्रतियोगिताको मुख्य प्रायोजक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको थियो भने सह प्रायोजकमा ग्लोबल आइएमइ बैंक, नबिल बैंक र गरिमा विकास बैंक रहेका थिए, पावरबाइ अस्ले इनर्जी जुस, सहयोगी प्रभु बैंक, बीमा साझेदार नेको इन्स्योरेन्स, अस्पताल साझेदार चौराहा हस्पिटल, मिडिया साझेदार लुम्बिनी टेलिभिजन तथा ग्राफिक्स साझेदार एके ग्राफिक्स रहेका थिए।

प्रतियोगिताको समापन समारोह समितिका अध्यक्ष पदम राज भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक रमेश आचार्य प्रमुख अतिथि, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समिति अध्यक्ष रामहरि घिमिरे तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका डेपुटी सीईओ लोकराज पनेरु विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रमको सञ्चालन सन्दीप रसाइलीले गरेका थिए। समारोहमा नेपाल राष्ट्र बैंकका कर्मचारी तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रदेश प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।