काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी तेल नकिन्न दिल्लीलाई अमेरिकाले दबाव दिएको भए पनि भारतलाई निरन्तर इन्धन आपूर्ति गर्न आफू तयार रहेको बताएका छन्।
दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै उपस्थित भएर उनले सञ्चारकर्मीहरूलाई शुक्रवार अपराह्ण सम्बोधन गरे। दुई देशबीचको त्यसअघि भएका विभिन्न सहकार्य सम्झौताको उनीहरूले प्रशंसा गरे।
रुसमा उत्पादित तेल र प्राकृतिक ग्यास किनेर भारतले रुसलाई युक्रेन युद्धका लागि आर्थिक रूपमा सघाएको भन्दै संयुक्त राज्य अमेरिकाले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ लगाएको छ। रुसले सन् २०२२ मा युक्रेनमाथि सैन्य हमला गरेपछि पुटिन पहिलो पटक भारत गएका हुन्। चार वर्षपछि दुईदिने राजकीय भ्रमणमा आएका पुटिनलाई मोदीले दिल्लीको हैदराबाद हाउसमा स्वागत गरे।
उनी भारतमा भएकै बेला अमेरिकाले युक्रेन र रुसबीच शान्ति सहमति गराउने प्रयास जारी राखेको छ। पुटिनले युक्रेनलाई डोन्बास क्षेत्रबाट पछि हट्न अन्यथा रुसले सो क्षेत्र खोसेर लिने चेतावनी दिएका थिए। सञ्चारकर्मीहरूले दुवै नेतालाई प्रश्न सोध्न पाएनन्। तर मोदीले दुई देशबीच सम्बन्ध सुदृढ बनाउने बताउँदै दुइटा नयाँ खालका पर्यटक भिसा योजनाको घोषणा गरे।
युक्रेन युद्धबारे सङ्क्षिप्त टिप्पणी गर्दै मोदीले भारत ूसुरुदेखि नै शान्तिको पक्षमा उभिएको बताए। ूदीर्घकालीन समाधानू खोज्ने प्रयासलाई स्वागत गर्दै भारत त्यसका लागि ूभविष्यमा योगदान गर्नू तयार रहेको पनि उनले बताए।
पुटिनले भारतमा निर्माणाधीन परमाणु ऊर्जा केन्द्रका लागि सघाउन आफू तयार भएको सङ्केत गरे।















प्रतिक्रिया