काठमाडौं । एनसेल फाउन्डेसनले एनपीएल सिजन २ मा प्रहार भएका चौकाहरूका आधारमा दुईहजार बढी बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
क्रिकेटलाई कक्षाकोठासँग र चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने उद्देश्यले सुरु गरिएको यो अभियानअन्तर्गत सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कपी, पेन्सिल, झोला, शार्पनरलगायतका अध्ययन सामग्री उपलब्ध गराइने फाउन्डेसनले जानकारी दिएको हो । हिजो बिहीबार (मंसिर १८) गतेसम्म खेलेका खेलहरूमा ९० खेलाडीहरूले कुल ५१० चौका प्रहार गरेका छन्। फाउन्डेसनले प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाएअनुसार २,०४० सामग्री वितरण गर्ने सुनिश्चित भएको छ।
चौका प्रहार गर्ने शीर्ष खेलाडीहरूमा पोखरा एभेन्जर्सका एडम रोसिङटन २७ चौकासहित पहिलो स्थानमा छन् । जसले १०८ शैक्षिक सामग्री प्रदान हुने सुनिश्चित गरेका छन्। लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहँदै ७६ सामग्री योगदान गरेका छन्। काठमाडौँ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले १७–१७ चौका प्रहार गर्दै ६८–६८ सामग्री वितरणमा योगदान गरेका छन्।
फाउन्डेसनका अनुसार यस पहलले शिक्षामा आवश्यक सामग्री अभाव झेलिरहेका विद्यार्थीहरूलाई सहयोग पु¥याउँदै उनीहरूको सिकाइ वातावरणलाई सकारात्मक बनाउने अपेक्षा गरिएको छ। एनसेलकी कर्पोरेट कम्युनिकेसन्स् तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले बिहीबारसम्म चौका प्रहार गर्दै सामाजिक योगदान पुर्याउने सबै खेलाडीलाई धन्यवाद दिँदै बाँकी खेलहरू पनि रोमाञ्चक र प्रभावकारी योगदानबाट भरिने विश्वास व्यक्त गरिन्।
गत वर्ष एनपीएलको पहिलो सिजनमा प्रहार गरिएका ६५३ चौकाबाट २,६१२ शैक्षिक सामग्री वितरण प्रतिवद्धता गरिएको थियो। प्रतिवद्धतालाई विस्तारित गर्दै देशभर ९,००० भन्दा बढी सामग्री वितरण गरिएको फाउन्डेसनले जनाएको छ।
यस वर्षको वितरण पनि नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र कर्मयोग फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिनेछ।








प्रतिक्रिया