१६ असार २०८३, मंगलबार

एमालेभित्र स्थायी गुटको अस्तित्व छैन : पद्मा अर्याल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव पद्मा अर्यालले महाधिवेशन तयारी, नेतृत्व चयन र पार्टीभित्रका समसामयिक एजेण्डाहरु समय सापेक्षित हुनुपर्नेमा जोड दिएकी छिन् । उनले महाधिवेशन केवल आन्तरिक संरचना नवीकरणको प्रक्रिया मात्र नभएर, नेपाली राजनीतिको अस्थिरताबीच ‘दिशानिर्देशन’ गर्ने अवसर पनि भएको औंल्याइन् ।

विधान महाधिवेशनबाट पारित नीतिहरू अनुमोदन गर्नु र पार्टीको भावी नेतृत्वको चयन गर्नु नै राष्ट्रिय महाधिवेशनको केन्द्रबिन्दु भएकाले अब दीर्घकालीन राजनीतिक कोर्ष तयार हुने उनको भनाइ थियो ।

‘विधान महाधिवेशनले विधि र नीति सम्बन्धि महत्वपूर्ण एजेन्डा तय गरेको, सोचेअनुसार निष्कर्षमा पुगेकाले अब राष्ट्रिय महाधिवेशन नेतृत्व समायोजन र दीर्घकालीन राजनीतिक कोर्स निर्धारणतर्फ केन्द्रित हुनेछ । महाधिवेशन उद्घाटनपछि नेतृत्व चयन नै प्रत्यक्ष बहसको एजेन्डा बन्ने र मुलुकको वर्तमान चुनौती सम्हाल्न सक्षम, एकीकृत, प्रतिनिधिमूलक नेतृत्व चयन गर्नु नै यसपटकको मुख्य लक्ष्य हो,’ उनले भनिन् । उनले एमालेलाई ‘सबै उमेर, क्षेत्र र समुदायको साझा फूलबारी’को रूपमा व्याख्या गर्दै युवादेखि परिपक्व पुस्तासम्मको सन्तुलित सहभागिता सुनिश्चित गर्नु नेतृत्व चयनको आधार मानिने बताइन् ।

भदौ २३ र २४ गते देखिएको नवयुवा अभियानपछि पार्टीले युवापुस्तालाई अझै निर्णायक रूपमा वा कार्यकारी तहमा ल्याउनुपर्ने आवश्यकता महसुस गरेको उनको भनाइ छ । केही नेताहरूले पदप्रति आकांक्षा प्रकट गरेको र उम्मेदवारी घोषणा भएको सन्दर्भमा अर्याल भन्छिन्, ‘यो नै लोकतान्त्रिक अभ्यासको सही समय हो । आकांक्षा राख्न पाउनु र खुला बहस गर्नु आन्तरिक लोकतन्त्रको सकारात्मक अभ्यास हो ।’ उनका अनुसार, महाधिवेशनसम्म पुग्दा पार्टी एकीकृत निष्कर्षमा उभिन्छ र प्रतिस्पर्धा तथा सहमति दुवै विधिलाई सम्मान गर्दै नेतृत्व चयन अघि बढ्छ ।

गुटबन्दीका सवालमा उनले दशौं राष्ट्रिय महाधिवेशनपछि एमालेभित्र स्थायी गुटको अस्तित्व नरहेको स्पष्ट पारिन् । विगतमा महाधिवेशनको प्रतिस्पर्धासँग जोडिएका समूहहरू कहिलेकाहीँ गुटका रूपमा सक्रिय हुने अवस्थालाई पार्टीले विगत केही वर्षमा पूर्णरूपमा संस्थागत रुपमा अन्त्य गरेको उनको दाबी छ । अहिले उठिरहेका नेतृत्वसम्बन्धी चासोलाई उनले ‘स्वस्थ बहस’को रूपमा लिएकी छन् । उनका अनुसार एमालेलाई आज आवश्यक नेतृत्व त्यही हो, जो आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय चुनौतीहरू सामना गर्न सक्षम होस् ।

महिला सहभागिताबारे बोल्दै उनले पार्टीले ३३ प्रतिशत सहभागितालाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याइसकेको र धेरै ठाउँमा महिला नेतृहरू ‘फस्र्टमेन’ वा कार्यकारी नेतृत्वका भूमिकामा सक्रिय रहेको जानकारी दिइन् । सहभागिता बढाउनु मात्रै होइन, महिलाहरूको क्षमता विकास, नेतृत्व पकड र दक्षता अभिवृद्धिलाई पार्टीले निरन्तर प्राथमिकता दिएको उनले बताइन् । ‘हिजो एक जना महिला राखेर मात्र सहभागी गराइएको थियो, आज महिलाहरूबीच नै प्रतिस्पर्धा भइरहेको छ । अब लक्ष्य समानतासहितको नेतृत्व हो,’ उनले भनिन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक संलग्नता विषयमा प्रतिक्रिया दिँदै अर्यालले संवैधानिक व्यवस्थाले राष्ट्रपतिलाई पूर्ण तटस्थ हुनुपर्ने भन्दै सक्रिय पार्टी राजनीतिमा फर्किने विषय संवैधानिक मर्यादासँग जोडिएको बताइन् । एमालेले राष्ट्रपतिलाई विवादित भूमिकामा नल्याउने नीति लिएको उल्लेख गर्दै उनले भनिन्, ‘उहाँले व्यक्तिगत रूपमा व्यक्त गरेको इच्छा छलफलको विषय हुन सक्छ, तर अहिले तत्काल पुनर्विचार गर्ने परिस्थिति देखिँदैन ।’

राष्ट्रिय राजनीतिक अवस्था र हालको अस्थिरताका बारेमा उनले गम्भीर चिन्ता व्यक्त गरिन् । संसद विघटन, शक्ति सन्तुलनमा आएको अव्यवस्था, आर्थिक मन्दीको संकेत, जनअसन्तुष्टि तथा जेनजी आन्दोलनका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा फसिरहेको उनले टिप्पणी गरिन् ।

उनले भनिन्, ‘आज मुलुक कमजोर छ । राष्ट्रिय स्वाभिमान नै चुनौतीमा परेको छ । यस्तो अवस्थामा एमाले सानो राजनीतिक स्वार्थमा चल्दैन । राष्ट्र, स्वाभिमान र अखण्डता जोगाउनु नै पहिलो दायित्व हो ।’ उनका अनुसार मुलुकलाई निकास दिन संसद पुनःस्थापना, जेन्सीसमेत समेटिएको राष्ट्रिय सरकार गठन र कानुनी बाटोबाट समाधान खोज्नु नै सही उपाय हो । संसद विघटनले अनावश्यक भागदौड र अनिश्चितता सिर्जना गरेको उल्लेख गर्दै उनले विधि र प्रक्रियाबाट मात्रै मुलुक सही दिशामा जान सक्ने बताइन् ।

आर्थिक संकट र असन्तुष्टि बढ्दै गए राज्यको संरचना नै धराशायी हुने खतरा बढ्ने भन्दै उनले राजनीतिक स्थायित्वलाई अनिवार्य रुपमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । महाधिवेशन, पार्टी एकता, नेतृत्व छनोट र राष्ट्रिय संकट यी सबै मुद्दाहरूमा सचिव अर्यालको प्रष्ट, ठोस र विश्लेषणात्मक अभिव्यक्तिले एमालेभित्र मात्रै होइन, समग्र नेपाली राजनीतिक परिवेशमा पनि महत्वपूर्ण सन्देश प्रवाह गर्न सक्ने अनुमान पनि गरिन्छ ।