धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अघि बढाइरहेको सुम्निमा पारुहाङ प्रतिष्ठान सम्बन्धी परियोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रारम्भ गरेपछि साम्पाङले तीव्र असन्तोष व्यक्त गरेका छन्। अख्तियारले १४ गते प्रतिष्ठानमा आर्थिक अनियमितताको आशंका व्यक्त गर्दै विस्तृत कागजात पेश गर्न माग गर्दै पत्राचार गरेको थियो।
अख्तियारले प्रतिष्ठानको दर्ता, विधान, पदाधिकारी विवरण, आय–व्यय अभिलेख, बैंक खाताको स्टेटमेन्ट, जग्गा खरिद–बिक्रीका कागजात लगायत सबै सूचना १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ।
यसबीच, चन्दा संकलनमार्फत सुम्निमा पारुहाङको प्रतिमा निर्माण अभियान चलाउँदै आएका मेयर साम्पाङले आफूविरुद्ध परेको उजुरीलाई ‘आफूले गरेका सकारात्मक कामप्रति असह्य व्यवहार’ रहेको भन्दै सामाजिक सञ्जालमा भिडियोमार्फत कडा शब्दमा प्रतिवाद गरेका हुन्।
उनले लामो समयदेखि प्रतिष्ठानको काम अघि बढाइरहेको उल्लेख गर्दै भने, “हामीले सुरु गरेको राम्रो पहल हेर्न नसकेर कसैले फजुल उजुरी हालेको रहेछ।” साम्पाङका अनुसार उनको विरुद्ध उजुरी पर्नु नयाँ कुरा होइन। धरानमा फूल–बिरुवा रोप्नेदेखि लिएर ९८ दिनमा कोकाहाबाट पानी ल्याउने कामसम्ममा पनि उजुरी परेको उनले स्मरण गराए। अख्तियारले मागेका कागजातहरू आफूले पहिलो दिनमै पठाईसकेको उनले बताए।
उनले यस्ता क्रियाकलापलाई विकासका लागि बाधक रूपमा चित्रित गर्दै भने, “देश यिनै नकारात्मक सोच भएका मानिसका कारण डुबेको हो। हामी सबै काम पारदर्शी रूपमा गरिरहेका छौँ।” साम्पाङले उजुरी दर्ता गर्नेलाई व्यंग्य गर्दै आफ्नो कामप्रति अवरोध सिर्जना नगर्न चेतावनी दिए। उनका शब्दमा, “यहाँ त बारीमा मकै रोप्दा पनि मुद्दा हाल्छन्। यस्ता मानिसहरूले भविष्यमा माटो चुनाव चिह्नमै भोट हालून्।”








प्रतिक्रिया