काठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले एमाले र देशको नेतृत्व केपी ओलीबाहेक अरूले गर्न नसक्ने तथ्यमा आफू अलिकति पनि दुविधामा नरहेको बताएका छन् । एमालेमा गुटबन्दी गरिरहेको समूहले आफ्नो नाममा पोस्टर बनाएर अफवाह फैलाउने काम गरेपछि महासेठले आफू केपी ओलीलाई फेरि एकपटक नेतृत्वमा स्थापित गराउने अभियानमा दृढतापूर्वक लागेको पनि प्रष्ट पारेका छन् ।
पार्टीको ११ महाधिवेशनबाट एमाले वर्तमान पार्टी अध्यक्ष ओलीकै नेतृत्वमा अघि बढ्ने महासेठले स्पष्ट पारे । देशलाई यतिबेला बलियो र स्पष्ट दृष्टिकोण भएको पार्टी र नेता आवश्यक रहेको भन्दै उनले त्यो आवश्यकता एमाले र ओलीले मात्र पूरा गर्न सक्ने उनको धारणा छ ।
एमाले सचिव महासेठले आफ्नो नाममा अफवाह फैलाउने एमालेकै पदाधिकारीलाई सचेत गराइसकेको बताए । उनले ती पदाधिकारीको नामै किटान गरे पनि उल्लेख नगर्न सुझाएकाले यहाँ उल्लेख गरिएन ।
एमालेमा यतिबेला केपी ओलीको विकल्प कोही पनि हुन नसक्ने उनले स्पष्ट पारे । कतिपयले पार्टीभित्रै पनि ओली र उनको पक्षमा लागेका नेताहरूविरुद्ध षडयन्त्र गरिरहेका बताउँदै महासेठले षडयन्त्र धेरै दिन नटिक्ने बताए । पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भएको अहिलेको अवस्थामा सिङ्गो पार्टी पङ्ति एकढिक्का भएर पार्टी र नेतृत्वलाई जोगाउनु पर्नेमा उनले जोड दिए । आफूलाई पनि कतिपयले ओलीविरुद्धको कित्तामा उभ्याउने प्रयास गरेका बताउँदै महासेठले त्यो भ्रममा नपर्न नेताकार्यकर्ताहरूलाई आग्रह गरे । उनले त्यस्ता भ्रामक कार्यको निन्दा पनि गरे । ‘म पार्टीको मूलधारमा छु, यतिबेला पार्टीमा केपी ओलीको विकल्प छैन’, महासेठले भने ।
महासेठले मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने पार्टीको ११ औं महाधिवेशनबाट केपी ओलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयनको लागि पहल लिन पनि नेताकार्यकर्तालाई आह्वान गरे ।
‘यो विभाजित हुने बेला होइन, केपी ओलीको नेतृत्वमा गोलबन्द भई एकढिक्का भएर अघि बढ्ने बेला हो’, सचिव महासेठले भने ।
‘म एकतावद्ध र देशीविदेशी षडयन्त्रविरुद्ध जुध्न सक्ने सक्षम, शक्तिशाली र देशभक्त पार्टी बनाउने अभियानमा निरन्तर क्रियाशील छु । यो कामको नेतृत्व हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले गरिरहनु भएको सबैमा विदितै छ । राष्ट्रिय स्वभिमान र समृद्धिको नेतृत्व गरिरहेकै कारण पार्टी अध्यक्ष कमरेड केपी ओलीविरुद्ध सवैखाले शक्तिहरु विभिन्न षडयन्त्रका तानावाना बुनेर लागिपरेको तथ्यमा पनि म कुनै दुविधामा छैन । तसर्थ हाम्रो पार्टीको ११ औं महाधिवेशनबाट पनि कमरेड केपी ओलीलाई नै अध्यक्षमा निरन्तरता दिएर प्रतिगामी शक्तिलाई सवक सिकाउने काममा म दृढतापुर्वक लागेको छु । सम्भव भएसम्म उहाँलाई सर्वसम्मत अध्यक्ष बनाउने, त्यसो हुन नसकेमा लोकतान्त्रिक विधिमार्फत पनि दुई तिहाईभन्दा बढी मतका साथ कमरेड केपी ओलीलाई नै अध्यक्ष बनाउने मेरो दृढ मान्यता रहिआएको छ,’ एमाले सचिव महासेठले भने ।
एमाले सचिव रघुबीर महासेठको भनाई जस्ताको तस्तै:
म नेकपा (एमाले)लाई एकतावद्ध र देशीविदेशी षडयन्त्रविरुद्ध जुध्न सक्ने सक्षम, शक्तिशाली र देशभक्त पार्टी बनाउने अभियानमा निरन्तर क्रियाशील छु । यो कामको नेतृत्व हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले गरिरहनु भएको सबैमा विदितै छ । राष्ट्रिय स्वभिमान र समृद्धिको नेतृत्व गरिरहेकै कारण पार्टी अध्यक्ष कमरेड केपी ओलीविरुद्ध सवैखाले शक्तिहरु बिभिन्न षडयन्त्रका तानावाना बुनेर लागिपरेको तथ्यमा पनि म कुनै दुविधामा छैन । म पार्टीको मूलधारमै छु, अहिले केपी ओलीको विकल्प छैन भन्ने मान्यतामा दृढ पनि छु । तसर्थ हाम्रो पार्टीको ११औं महाधिवेशनबाट पनि कमरेड केपी ओलीलाई नै अध्यक्षमा निरन्तरता दिएर प्रतिगामी शक्तिलाई सवक सिकाउने काममा म दृढतापुर्वक लागेको छु । सम्भव भएसम्म उहाँलाई सर्वसम्मत अध्यक्ष बनाउने, त्यसो हुन नसकेमा लोकतान्त्रिक बिधिमार्फत पनि दुई तिहाईभन्दा बढी मतका साथ कमरेड केपी ओलीलाई नै अध्यक्ष बनाउने मेरो दृढ मान्यता रहिआएको छ । यो मान्यतासहित स्वाभिमानका नायक कमरेड केपी ओलीको विपक्षमा समूहबन्दी गरिरहेको भन्दै विभिन्न प्रचारवाजी गरिएको पाइएकोले पार्टीकै पदाधिकारीहरुलाई त्यस्तो अनुचित कार्य नगर्न सचेत समेत गराइसकेका छु । यस प्रकारका आपत्तिजनक कामप्रति गम्भीर आपत्ति जनाउँदै अव आइन्दा यस्ता अराजनीतिक काम नगर्न म सवैलाई सचेतसमेत गराउन चाहन्छु ।
रघुवीर महासेठ, सचिव नेकपा (एमाले)








प्रतिक्रिया