२६ जेष्ठ २०८३, मंगलबार

नेपाली युवा टोली प्रिमियर कपको फाइनलमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । मलेसियालाई पराजित गर्दै नेपाली युवा टोली एसीसी मेन्स यू–१९ प्रिमियर कपको फाइनल प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको छ ।

नेपालका वंश क्षेत्री २३ र निश्चल क्षेत्री १५ रनमा अविजित रहे । ओपनर निरजकुमार यादव चार रनमा क्याच आउट भए । नेपालले १३ अतिरिक्त रन पाएको थियो ।

त्यसअघि युएईको अजमानस्थित सेभेन डिस्ट्रिक ग्राउन्ड–२ मा नेपालले टस जितेर मलेसियालाई ब्याटिङका लागि निम्त्याएको थियो । पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा समेटिएको थियो ।

मलेसिया एक समय ६.३ ओभरमा ६ विकेट गुमाएर १३ रनको अवस्थामा थियो । नेपालविरुद्ध हमजाह पंगेनेलीले बनाएको १३ रन नै सर्वाधिक रह्यो । मोहम्मद फातुलले ११ रन थपे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

मलेसियालाई कम स्कोरमा रोक्न नेपालका नितेशकुमार पटेलले चार विकेट लिए । नितेशले आठ ओभरमा दुई मेडन राख्दै २४ रन खर्चे ।

चन्दन रामले तीन विकेट झारे । चन्दनले पाँच ओभरमा एक मेडन राख्दै १७ रन दिए । अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक–एक विकेट लिए ।

नेपालले अब उपाधिका लागि ओमान र युएईबीचको खेलको विजेतासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा अहिले युएई र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रिमियरको कपको फाइलनमा पुगेसँगै नेपाल एसीसी मेन्स यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । प्रिमियर कपका सहभागी १४ टोलीमध्ये शीर्ष तीन टोली एसिया कपमा छनोट हुनेछन् । यू–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदै छ ।