२३ जेष्ठ २०८३, शनिबार

एमालेमा अहिले केपी ओलीको विकल्प खोज्ने बेला होइन, ओलीको विकल्प छैन : पद्मा अर्याल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले)की सचिव एवम् ११ औं महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएकी छन् ।

११ औं महाधिवेशन प्रचार समितिको आज पार्टी कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले यस्तो बताएकी हुन् ।

सचिव अर्याललेले भनिन्, ‘यो विषम परिस्थितिबाट पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन । यो अहिलेको आवश्यकता हो । अहिले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो ।’ पछिल्लो समय महाधिवेशन नजिकिदै गर्दा पार्टीको नेतृत्वको विषयमा बहस भइरहदाँ ओलीको विकल्प ओली नै रहेको अर्यालले प्रष्ट पारेकी हुन् । उनले पार्टीको महाधिवेशनले अध्यक्ष ओलीलाई नै पुनः अनुमोदित गर्ने समेत उल्लेख गरिन् ।

मुलुकको वर्तमान सङ्कटपूर्ण राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र सुदृढ एकताको आवश्यकतासमेत रहेको सचिव अर्यालले औंल्याइन् । उनले सम्बद्ध सबै पार्टी संरचना, संगठन तथा कार्यकर्ताहरूलाई अझ उन्नत एकता र आन्तरिक समन्वयलाई अझ मजबुत बनाउन आग्रह गरिन् ।

पार्टीको महाधिवेशनबाट अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशा निर्देश गर्ने दाबी समेत अर्यालले गरिन् । अहिले मुलुक अभुतपूर्व संकटपूर्ण घडीबाट गुज्रिएको बताउँदै अर्यालले एमालेमाथि भइरहेको चौतर्फी प्रहारको सामना गर्न, राष्ट्र र राष्ट्रियता जोगाउन तथा कोमामा रहेको संविधानलाई बचाउन एमाले अझ सुदृढ, सबल, सक्षम र एकताबद्ध हुन जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘अहिले एमालेमा अध्यक्ष केपी ओलीको अपरिहार्यता अझ बढेको छ, मुलुकमा देखा परेको विषम परिस्थितिबाट पार्टी, राष्ट्र र राष्ट्रियता जोगाउन उहाँको विकल्प छैन । यो अहिलेको आवश्यकता हो ।’

पार्टीभित्रको एकता, स्थायित्व र प्रभावकारी नेतृत्वमार्फत देशसमक्ष उपस्थित चुनौती समाधान गर्न सकिने हुँदा यस सन्दर्भमा आम पार्टी पंक्ति गम्भीर हुँदै एकताबद्ध हुन अर्यालले आग्रह गरिन् । अझै पनि पार्टीमा सहमतिका आधारमा नेतृत्व निर्माणको औचित्य र आवश्यकता रहेको बताउँदै अर्यालले केपी ओलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व निर्माण हुने दावी गरिन् । उनले पार्टीभित्र अराजनीतिक तथा अस्वस्थ अभिव्यक्ति नदिन पनि पार्टी पंक्तिलाई आग्रह गरेकी छन् ।