
काठमाडौं, १३ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्दैछ । खेल अजमान मैदानमा शनिबार बिहान ९ बजे सुरु हुनेछ ।
नेपाल समूह ‘ए’को र मलेसिया समूह ‘डी’को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङकङलाई ११९ रनले हराएको थियो ।
१४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ ।
यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।















प्रतिक्रिया