१७ असार २०८३, बुधबार

एमाले ११ औं महाधिवेशन : प्रतिनिधि बन्न उदयपुरमा ५१ जनाको उम्मेदवारी

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १० मंसिर । नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्न उदयपुरमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले उदयपुरले गठन गरेको निर्वाचन समितिको कार्यतालिका अनुसार बुधबार उम्मेदवारी दर्ता भएको हो ।

दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्र नं. १ बाट खुलामा ४, महिलामा २, र युवामा १ गरेर सात जना र क्षेत्र नं. २ बाट खुलामा ३, महिलामा २, र युवामा १ गरेर छ जना, जिल्लाभरबाट दलित एक जना गरी जम्मा १४ जना प्रतिनिधि चयन हुने निर्वाचन अधिकृत बिदुर राउतले जानकारी दिए ।

निर्वाचन अधिकृत राउतका अनुसार १४ जना प्रतिनिधिका लागि ५१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा निर्वाचन क्षेत्र नं. १ खुला चार जनाका लागि १२ जना, दुई जना महिलाका लागि ६ जना र एक जना युवाका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

उदयपुर निर्वाचन क्षेत्र नं. २ खुला तीन जनाका लागि ९ जना, दुई जना महिलाका लागि ५ जना र एक जना युवाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् भने जिल्लाभरिबाट एक जना दलित प्रतिनिधिका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ मा तीन हजार २ सय ४७, दुईमा दुई हजार ४ सय १३ र दलित ३८५ गरी कुल ६ हजार ४५ जना पार्टी संगठित सदस्य छन् । सबै पार्टी सदस्यले महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्न पाउने व्यवस्था रहेको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिए ।

जिल्लामा रहेका २ केन्द्रीय सदस्य भने स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ ।

बुधबार दर्ता भएका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे वा सहमति गर्न चाहे भोलि बिहीबार १ बजे सम्मका लागि समय निर्धारण गरिएको एमाले उदयपुरले जानकारी दिएको छ ।

उम्मेदवारहरुबीच सहमति नजुटे वा उम्मेदवारी फिर्ता नभए निर्वाचन गराउने एमाले उदयपुरको तयारी छ ।

महाधिवेशन प्रतिनधिका लागि मंसिर १३ गते देशभर एकसाथ मतदान गर्ने एमाले निर्वाचन समितिको तालिका छ ।

एमाले महाधिवेशन काठमाडौंमा मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।