१० श्रावण २०८३, आइतबार

कर्णालीविरुद्ध सुदूरपश्चिमको मध्यम लक्ष्य

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको हो ।

कर्णालीविरुद्ध सुदूरपश्चिमका शीर्ष क्रमका ब्याटर धराशायी बने । कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन जोडे । उनले २८ बलमा एक चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रले ७३−५ को कठिन स्थितिबाट हर्मित सिंहसँग छैटौँ विकेटका निम्ति ३८ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ सम्हालेका थिए ।

हर्मितले १६ बलमा एक चौका र एक छक्कासहित १९ रन थपे । आरिफ सेखले २५ बल खेल्दा तीन चौकासहित २७ रन जोडे । क्रिस लिनले १८ र ओपनर विनोद भण्डारीले ११ रन बनाए । सुदूरका ओपनर जस ब्रोन भने ‘रोयल डक’ भए । उनलाई खेलको पहिलो बलमै कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरेका थिए ।

सुदूरपश्चिमका नरेन साउद ’हिट विकेट’ भए । सोमपालले गरेको १८.३ ओभरमा उनले खुट्टाले विकेटमा लागेको थियो । हेमन्त डक भए । स्कट कुग्गेलिन १० रन बनाए ।

कर्णालीका कप्तान सोमपालले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले एक मेडन फ्याँक्दै ३२ रन मात्र खर्च गरे । नन्दन यादवले दुई विकेट लिए । मार्क वाट, विपीन शर्मा र युवराज खत्रीको नाममा समान एक–एक विकेट रह्यो ।

प्रतियोगितामा अपराजित सुदूरपश्चिमले यसअघिका दुई खेलमा काठमाण्डू र पोखरालाई क्रमशः २९ र १८ रनले पराजित गरेको थियो । यता, कर्णाली भने पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने कर्णालीले लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको सहज जित निकालेको थियो ।