
काठमाडौं, ७ मंसिर । भारतले दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपको पहिलो संस्करणको उपाधि जितेको छ । श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।
भारतले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो ।
नेपालका लागि सरिता घिमिरेले ३३ रन, विमला राईले २६ रन र विनिता सोमाईले ९ रन बनाइन् । सुरुवातमै कप्तान विनिता पुन (४) र मनकेशी चौधरी (८) आउट भएपछि नेपाल दबाबमा परेको थियो । १ सय १५ रनको लक्ष्य पछ्याएको भारतले ११.४ ओभरमै ३ विकेट गुमाएर १ सय १७ रन बनाएर सहज विजय हासिल गर्यो ।
भारतका करुणा कुमारीले २७ बलमा ४२ रन र पुला सुरेनले २६ बलमा ४४ रन जोड्दै जितको आधार तयार गरे । नेपालका लागि सरिता घिमिरेले २ खेलाडीलाई रनआउट गरिन्। नेपालको टोलीमा १६ खेलाडी रहेका छन् ।
टोलीको प्रमुख प्रशिक्षक पुरनसिंह खत्री, सहायक प्रशिक्षक नरेन्द्र निरौला र व्यवस्थापक भगवती भट्टराई बराल छन् । प्रतियोगितामा नेपालसहित ७ राष्ट्र सहभागी थिए ।








प्रतिक्रिया