
काठमाडौं, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनमात्र बनाउन सक्यो ।
पोखराका कप्तान तथा मार्की कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले पनि टिमलाई जितसम्म डोहो¥र्याउन सकेनन् । उनले ३२ बलमा चार चौका र चार छक्कासहित ५३ रन बनाए । १५.३ ओभरमा ५० रन पूरा गरेका भुर्तेल लगत्तै अर्को बलमा बोल्ड भए । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिनले बोल्ड गरे ।
जारी प्रतियोगितामा भुर्तेलको यो दोस्रो अर्धशतक हो । भुर्तेलले यसअघि विराटनगर किंग्सविरुद्ध ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । भुर्तेल जारी सिजन लगातार दोस्रो अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि चितवन राइनोजका रवि बोपाराले दुई खेलमा लगातार अर्धशतक बनाएका थिए ।
दोस्रो इनिङको आठौँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले जीवनदान पाए । दीपेन्द्रसिंह ऐरीले गरेको उक्त ओभरको पहिलो बलमा भुर्तेल आठ रनमा हुँदा जस ब्रोनले क्याच छुटाएका थिए ।
यसबाहेक, जिम्मी निसमले आक्रामक ब्याटिङ गर्दै २५ बलमा दुई चौका र पाँच छक्कासहित ४७ रन बनाए । निसम र कुशलले ३०–३ को कठिन स्थितिबाट चौथो विकेटका निम्ति ७५ रनको साझेदारी गर्दै पोखराको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, ११.३ ओभरमा जिम्मी निसमलाई सुदूरपश्चिमका कप्तान ऐरीले बोल्ड गरेपछि पोखराको लयमा ‘ब्रेक’ लाग्यो ।
यी दुईबाहेक, अन्तिममा डान डाउथवेटले १६ बलमा एक चौका र पाँच छक्कासहित ३७ रन बनाए । अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
सुदूरपश्चिमका हर्मित सिंहले दुई विकेट लिए । यस्तै, स्कट कुग्गेलिन, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा, हेमन्त धामी र नरेन साउदले समान एक विकेट लिए ।










प्रतिक्रिया