
काठमाडौं, ४ मंसिर । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकीय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँमा आइपिओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ३०,००,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
बुधबार एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा आयु इन्टरटेन्मेन्टका तर्फबाट अध्यक्ष कदम केसी तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे ।
सारथी ग्रुपसहितको लगानी रहेको फिस्टेल ड्रिम पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको छ । करिब ५७ रोपनी जग्गामा फैलिएको पार्क सबै उमेर समुहको लागि मनोरञ्जन लिने रमणीय पार्क हो ।
वाटर पार्क, वेब पुल तथा साहसिक खेलहरुसहितको आनन्द लिन सकिने फिस्टेल ड्रिम पार्क नेपालको हालसम्मकै सबैभन्दा ठूलो मनोरञ्जन पार्कको रुपमा रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो ।








प्रतिक्रिया