२९ आश्विन २०८३, बिहिबार

पाकिस्तानी वायुक्षेत्र बन्दले संकटमा परेको एयर इन्डियाले माग्यो सहयोग

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । पाकिस्तानी वायुक्षेत्रमा भारतीय विमान उड्न रोक लगाएपछि भारतीय विमानहरू त्यसको प्रयोग गर्न असमर्थ छन् । यसले भारतीय विमान कम्पनीहरू ठूलो आर्थिक क्षति भोग्न र लामो मार्ग अपनाउन बाध्य भएका छन् ।

यसैबीच, विमान उडान लागत र वित्तीय बोझले संकटमा परेको एयर इन्डियाले भारत सरकारसँग कूटनीतिकस्तरमा चीनसँग कुरा गरी एयरलाइनलाई शिनजियांगको संवेदनशील होटन मार्ग प्रयोग गर्ने अनुमति दिलाउन अनुरोध गरेको छ ।

यो मार्ग प्राप्त भएको खण्डमा अमेरिका, क्यानडा र युरोपतर्कका उडानहरूको समय र इन्धन लागत घट्नसक्ने समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

यही वर्ष अप्रिलमा भारत–पाकिस्तानबीच सैन्य तनाव बढेपछि भारतीय विमान सेवालाई पाकिस्तानी वायुक्षेत्रभरी उडान भर्ने अनुमति छैन ।

यसले एयर इन्डियाका लामो दूरीका उडानहरूको अवधि तीन घण्टासम्म बढेको र इन्धन खर्च २९ प्रतिशतले वृद्धि भएको छ ।

यो प्रतिबन्धले वार्षिक ४५५ मिलियन डलरको आयमा कमी हुने कम्पनीले अनुमान गरेको छ ।

एयर इन्डियाले अनुरोध गरेको मार्ग चीनको पश्चिमी थिएटर कमान्डअन्तर्गत पर्दछ, जहाँ पिपल्स लिबरेसन आर्मीका क्षेप्यास्त्र र वायु रक्षा प्रणालीहरू तैनाथ रहेको बताइएको छ ।

यो क्षेत्र अग्ला पहाडहरूले घेरिएको छ । सुरक्षा जोखिमको कारण अन्तर्राष्ट्रिय विमान सेवाहरूले सामान्यतया यसबाट टाढा रहने प्रयास गर्दछन् । विज्ञहरू चीनले यो मार्ग खोल्ने सम्भावना अत्यन्त कम रहेको बताउँछन् ।

गत जुनमा गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनामा २६० जनाको मृत्यु र त्यसपछि सुरक्षा जाँचबाट उडानहरू घटाउने निर्णयले एयरलाइनको प्रतिष्ठा र नेटवर्कलाई ठूलो असर गरेको छ ।