२४ जेष्ठ २०८३, आइतबार

संसद् पुनर्स्थापनाका लागि कानुनी लडाईं र सडक सङ्घर्ष गर्ने अध्यक्ष ओलीको घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले कानुनी लडाईं र सडक सङ्घर्ष गर्ने बताएका छन् ।

मंगलबार विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद् पुनर्स्थापना लागि पार्टीले कानुनी लडाईं र सडक सङ्घर्ष दुवै प्रकारको कदम चाल्ने घोषणा गरेका हुन् ।

‘एउटा कानुनी लडाईं लड्छौँ, दोस्रो सडक सङ्घर्ष गर्छौँ’, अध्यक्ष ओलीले भने, एमालेले गर्ने सङ्घर्ष आगजनी र तोडफोड गर्ने नभई संवैधानिक, शान्तिपूर्ण र जनताको जीउधनको रक्षा गर्ने हुनेछ ।’

अध्यक्ष ओलीले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना बाहेक अन्य फैसला गर्ने बाटो नै नभएको बताए । यदि प्रतिनिधि सभा पुनर्स्थापना भएन भने नेपालमा संविधान नै छैन भन्ने बुझ्नुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटनदेखि नयाँ सरकार निर्माणसम्मका सबै प्रक्रिया संविधानविरुद्ध, अलोकतान्त्रिक र नियोजित सत्ता कब्जाको परिणाम भएको बताए ।

अध्यक्ष ओलीले भने, ‘संसदको विघटन हरेक कोणबाट असंवैधानिक छ, प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक हिसाबले बाघको छालामा स्यालको रजाइँ गरिएको छ, यस्तो अराजक प्रक्रियालाई हामी स्वीकार्न सक्दैनौँ ।’

अध्यक्ष ओलीका अनुसार देश अहिले ऐतिहासिक दोबाटोमा उभिएको छ । ‘एकातिर विनाश, अव्यवस्था र प्रतिक्रियावादी गठबन्धनको मार्ग छ । अर्कोतिर राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता र समृद्धिको मार्ग’ उनले भने ।

उनले यो संवैधानिक सङ्कटलाई साधारण चुनावी बहसमा रूपान्तरण गर्ने प्रयास भइरहेकोप्रति आक्रोश व्यक्त गरे । अहिलेको समस्याको निसका प्रतिनिधि सभा पुनर्स्थापना नै भएको उनको धारणा छ ।

अध्यक्ष ओलीले भदौ २३ र २४ का घटनालाई देश समृद्धितर्फ अघि बढिरहेको संवेदनशील समयमा नियोजित रूपमा अराजक क्रियाकलाप भएको बताए । ‘नेपोबेबीका नाममा बालबालिकामाथि अपराध भयो, उनीहरूलाई आतङ्कित बनाइयो, आन्दोलनका नाममा फेक जेनजी प्रयोग गरियो, माइतीघरदेखि एभरेष्ट होटेलसम्म प्रदर्शन गराइयो अनि पछि उनीहरूलाई घेराबन्दीमा पारियो,’ उनको भनाइ छ ।

भदौ २४ को घटना कुनै आकस्मिक घटना नभई भदौ २३ कै आतंक र पूर्वतयारीको निरन्तरता भएको अध्यक्ष ओलीले टिप्पणी गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकारको उत्पत्ति र आधारप्रति प्रश्न उठाउँदै भने, ‘यो वैधानिकता नभएको सरकार हो, यो सो–क्ल्ड सरकार हो, यो सरकार कसले बनायो ? नेपाली जनताले होइन, कसैले एकमत दिएको पनि होइन, प्रतिक्रिया र षड्यन्त्रको परिणाम मात्र हो ।’

अध्यक्ष ओलीले ‘क्रान्तिबाट सरकार बनेको’ भन्ने दाबीलाई भ्रामक बताउँदै भने, ‘नेपालमा क्रान्ति भएको छैन, प्रतिक्रान्ति भएको छ, आगजनी, लुटपाट र तोडफोडलाई उपकरण बनाएर गठन गरिएको सरकार हो यो, न यसको टिक्ने आधार छ, न कुनै आलम्ब ।’

अध्यक्ष ओलीले वर्तमान सरकारलाई संविधान विपरीत, जनमत विपरीत र लोकतान्त्रिक मूल्यमान्यता विपरीत बनेको भन्दै स्पष्ट रूपमा खारेज गर्नुपर्ने आवश्यकता औँल्याए । ‘यो सरकार असंवैधानिक छ र अलोकतान्त्रिक पनि छ, यो कुरा भन्न कुनै अप्ठेरो मान्नुपर्ने छैन,’ अध्यक्ष ओलीले भने ।