
काठमाडौं, २ मंसिर । नेकपा (एमाले)का उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमालले संगठन र पार्टीलाई संकट पर्दा सबैभन्दा बढी मजदुरलाई संकट पर्ने बताएका छन् ।
मजदुर नेता कमल गौतमको स्मृतिमा सोमबार बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै रिमालले जहाँ पार्टी, संगठन र मजदुरलाई समस्या पर्छ त्यहाँ कमल गौतम पुगी समस्या समाधान गर्ने नेता थिए भने ।
रिमालले गौतमलाई आन्दोलनको पर्यायवाचीका नेताका रूपमा स्मरण गरे ।
जीवनभर मजदुर संगठन र पार्टीमा काम गरेका गौतमको जनप्रतिनिधि बन्ने चाहना पूरा नगरेकोमा निकै पछुतो लागेको उनले बताए ।
‘मेरो लामो समयको सहकर्मी, सहयात्री नहुँदाको पीडा त भनिसाध्य छैन नै तर उहाँले एकपटक जनप्रतिनिधि बन्ने धोको सुनाए पनि अझै उमेर बाँकी छ भनेर रोकेको पीडा निकै बढी भएको छ, उहाँ कहिल्यै स्वार्थका लागि काम गर्नुभएन तर एकपटक यो धोको छ भनेको पूरा गर्न सकिएन, यो निकै चिन्ताको विषय हो,’ रिमालले भने ।
रिमालले मजदुर संगठनलाई महत्त्व दिन र आकर्षण गर्नको लागि गौतमको योगदान निकै रहेको बताए । रिक्सा चालक मजदुरलाई संगठित गर्ने कार्यमा गौतमले निकै मेहनत गरेको र असंगठित मजदुरको क्षेत्रमा बलियो आधार बनाउने काम गरेको रिमालले बताए ।
रिमालले गौतमले स्वदेशमा मात्रै नभई विदेशका कार्यक्रममा जाँदा त्यहाँका राजदूत तथा अन्य सरोकारवालालाई भेला पारेर मजदुरका विषयमा छलफल गराउने, समस्या भएका विषयमा समाधान खोज्ने कामहरू गरेर फर्केको स्मरण गरे ।








प्रतिक्रिया