
काठमाडौं, १ मंसिर । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेको छ ।
आज बसेको सञ्चालक समितीको ११ औं बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागि आजदेखि लागू हुनेगरी नियुक्त गरेको हो । यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिईओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रही रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।
फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
बढदै गएको डिजिटल कारोबार र क्यासलेसतर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ । यसअघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भएका छन् ।
रेग्मीले पीएसपी संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उनको खुवीलाई आइएमई खल्तीले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हाँसिल गर्ने अपेक्षा समेत गरेको छ ।








प्रतिक्रिया