२६ जेष्ठ २०८३, मंगलबार

जापानको नागोयामा गुञ्जियो नेपथ्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । जापान यात्रामा निस्केको नेपथ्यले नागोयामा दर्शकबाट न्यानो र भव्य स्वागत पाएको छ । गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउन सुरु गर्ने वितिक्कै दर्शक उत्साहित भएर चिच्याउन थालिहाले । त्यही वेला उनीहरूका हातमा चम्किरहेका रङ्गीविरङ्गी बत्तीले सिङ्गो माहोललाई झिलिमिली बनायो ।

नेपथ्यका गीतमा जतासुकैका दर्शकको प्रतिक्रिया लगभग उस्ताउस्तै भेटिन्छ। नागोयामा ‘जोगले हुन्छ भेट’ गाइँदा भने अन्यत्रभन्दा बढी उत्साह देखिन्थ्यो । ब्यान्डका मुख्य गायक एवं अगुवा अमृतले कन्सर्ट अवधिभर गीतका साथसाथै दर्शकसँग संवादलाई जारी राखे । उनले विदेशमा बसेका वेला नेपाली एकजुट हुनुपर्ने र आफ्नो भाषा अनि पहिचानलाई अझ दह्रोसँग समात्नुपर्ने आवश्यकता पनि औंल्याए ।

कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले स्वदेशमा स्कुल जान नपाएका केटाकेटीलाई सक्दो सहयोग गरिदिएर देशप्रतिको दायित्व निभाइदिन अपील गरे। नेपथ्यले ‘रातो र चन्द्रसुर्जे’ सुनाएर बिदा मागेको थियो ।

नागोया लाइभ्स हलमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

नागोयाको सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापकको टोली अर्को प्रस्तुतिका लागि जापानको राजधानी शहर टोकियो पुग्दै छ । जापानकै प्रसिद्ध ‘टोकियो डोम सिटी हल’ मा आउँदो मंगलबार नेपथ्यको प्रस्तुति रहनेछ ।