
काठमाडौं, २९ कात्तिक । जम्मु–कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी स्टेसनमा शुक्रबार मध्यराति भएको विस्फोटमा मारिनेको संख्या ९ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार राति ११ः२० बजे भएको विस्फोटमा २९ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने सम्भावना छ ।
नौगाम प्रहरी स्टेसनमा भएको विस्फोट गत सोमबार दिल्लीको लालकिल्लाअगाडि भएको कार बममा प्रयोग गरिएकै अमोनियम नाइट्रेटबाट गराइएको पाइएको छ ।
कश्मीर प्रहरी अधिकारीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि मृतकहरूको पहिचान गर्न गाह्रो भएको छ । धेरै शव पहिचान गर्न बाँकी छ । विस्फोटले धेरैवटा कारमा पनि आगलागी भएको छ । केही दिनअघि कश्मीरमा एक डाक्टरलाई पक्राउ गरिएको थियो ।
यस क्रममा जम्मु कश्मीर प्रहरीले डा. मुजम्मिल गनाईको फरिदाबादस्थित भाडाको घरबाट ३६० किलोग्राम विस्फोटक पदार्थ जफत गरेको थियो ।
मृतकहरूमध्ये धेरैजसो जम्मु कश्मीर प्रहरी अधिकारी र अमोनियम नाइट्रेटको अनुसन्धान गर्ने फोरेन्सिक टोलीका सदस्य हुन् । विस्फोटमा श्रीनगर प्रशासनका दुई स्थानीय अधिकारी पनि मारिएका छन् । जसमा एक नायब तहसिलदार छन् ।








प्रतिक्रिया