२९ जेष्ठ २०८३, शुक्रबार

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ ।

लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् ।

कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी छनोट गरिएको हो ।

आईकोनिकको रुपमा छनोट भएका विकेटकिपर ब्याटर समिर मिडर अर्डरमा ब्याटिङ गर्छन् । उनले लुम्बिनी प्रदेशबाट यू–१८ र यू–१६ प्रतियोगिता समेत खेलेका छन् । यस्तै आशुतोष पाण्डे र दिनेश बोहरा लुम्बिनी लायन्सको हिरो’ खेलाडीको रुपमा छनोट भएका छन् ।

अब समिर अली लुम्बिनी लायन्सको मुख्य टोलीमा समावेश हुनेछन् । आशुतोष र दिनेश पनि टोलीसँगै रहने लुम्बिनी लायन्सले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

ट्यालेन्ट हन्टमा करिब १ सय खेलाडी सहभागी रहेको र त्यसमा अभ्यास खेलहरु खेलाएर आइकोनिक प्लेअर छनोट गरिएको लुम्बिनी लायन्सका कन्सलट्यान्ट प्रशिक्षक शक्ति गौचनले जानकारी दिए । ‘ उनीहरू नयाँ छन् तर धेरै सम्भावना छ । आशा छ भविष्यमा राम्रो गर्नेछन्, ‘ गौचनले भने ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले यस पटक भैरहवाको एक्सट्राटेक ओभलमा प्रशिक्षण गर्दै तयारी तिव्र बनाएको छ ।