३१ जेष्ठ २०८३, आइतबार

बेलायत–नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिलको ‘गोइब ग्लोवल पार्टनरसीप अवार्ड’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ कार्तिक । बेलायत–नेपालबीचको सीपसम्बन्धी साझेदारीले ब्रिटिस काउन्सिल गोइब ग्लोवल पार्टनरसीप अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ। विश्वभरका पाँच उत्कृष्ट साझेदारीमध्ये एकका रूपमा नेपाल–बेलायतको सहकार्यलाई सम्मान गरिएको हो।

यो अवार्डको घोषणा अक्टोबर २८ मा लन्डनमा सम्पन्न गोइब ग्लोवल २०२५ सम्मेलन का क्रममा गरिएको थियो। नेपाली पक्षबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि शर्माले अवार्ड ग्रहण गरे ।

साझेदारीमा बेलायतका चार संस्था, नेपाल उद्योग वाणिज्य महासंघ, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लगायत नेपालका सार्वजनिक तथा निजी क्षेत्रका निकाय सहभागी छन्।

यस सहकार्यमार्फत नेपालमा हरित सीप विकासमा देखिएका चुनौती समाधान गर्न सार्वजनिक–निजी साझेदारीको सुदृढ अवधारणा कार्यान्वयन भइरहेको छ। यसकै भागस्वरूप नेपालमा ग्रिन स्किल एड्भाइजरी बोर्ड स्थापना गरिएको छ, जसले समयानुकूल र दीगो रोजगारीका लागि समावेशी मार्गनिर्माण गर्ने लक्ष्य लिएको छ।

ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले भने, “यो अवार्डले बेलायत–नेपाल साझेदारीको उपलब्धिलाई विश्वसामु चिनाएको छ। हरित सीप विकासमा सार्वजनिक–निजी सहकार्यबाट हामीले दीगो, समावेशी र भरपर्दो जनशक्ति निर्माणमा योगदान दिइरहेका छौं।”

ब्रिटिस काउन्सिलका डेपुटी चिफ एक्जिक्युटिभ केट इवार्ट बिग्सले अवार्ड हस्तान्तरण गर्नुभयो भने शिक्षासम्बन्धी ग्लोवल डाइरेक्टर माडलिन एनसलले यस परियोजनाले शिक्षा र दिगो विकासमा पार्ने प्रभावबारे विचार व्यक्त गरे।

गोइब ग्लोवल पार्टनरसीप कार्यक्रम अन्तर्गत पाँचौं वर्षगाँठ मनाउने क्रममा यो अवार्ड प्रदान गरिएको हो। यस वर्ष विश्वभरबाट १०५ वटा आवेदनमध्ये पाँच उत्कृष्ट साझेदारीलाई छनोट गरिएको थियो। अन्य विजेता साझेदारीहरू पाकिस्तान, चीन, इजिप्ट र नाइजेरियाका थिए।

ब्रिटिस काउन्सिलका अनुसार, गोइब ग्लोवल पार्टनरसीप कार्यक्रमले उच्च शिक्षा, अनुसन्धान र प्राविधिक सीप विकासमा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै आएको छ।