१३ असार २०८३, शनिबार

आपराधिक कार्यमा संलग्न ४२९ जना पक्राउ, लुटिएका ७१८ हतियार बरामद

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आपराधिक कार्यमा संलग्न भएको आरोपमा ४२९ जना पक्राउ परेको जानकारी दिएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले हालसम्म पक्राउ परेकाहरूमाथि विभिन्न शीर्षकमा १६८ वटा मुद्दा दर्ता भइसकेको बताए ।

समितिलाई देशको शान्ति सुरक्षाबारे जानकारी दिँदै गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनामा लुटिएका तथा हराएका हतियारहरूमध्ये ठूलो संख्यामा नियन्त्रणमा ल्याइसकेको पनि उल्लेख गरे ।

“घटनापश्चात् लुटिएका÷हराएका सुरक्षाकर्मीका हतियारमध्ये ७१८ थान सुरक्षाकर्मीको नियन्त्रणमा ल्याइसकिएको छ,“ उनले भने, “बाँकी हतियार फिर्ता ल्याउन सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरी खोजी कार्यलाई तीव्र बनाइएको छ ।“