
बुटवल, २७ कात्तिक । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आजका लागि तोकिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । यसअघि २० कात्तिकको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो ।
गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । सुरु मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको कुँवरले बताए ।
यसअघि १३ कात्तिकमा तोकिएको पेशी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । आजको पेशी स्थगित हुने नहुने अझै यकिन नभएको कुँवरले बताए ।
त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।








प्रतिक्रिया