काठमाडौं, २५ कार्तिक । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मंसिर ६ गते शनिबारका दिन ‘गरिमा रोड रेस २०८२’ आयोजना गर्न लागेको छ।
गत वर्षदेखि शुरु गरिएको गरिमा रोड रेस प्रतियोगिताको यो दोस्रो संस्करण हो। यस वर्षको प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला ४५ वर्षमाथि तथा पुरुष ५० वर्षमाथि) तर्फ ५ किलोमिटरका दूरीमा सञ्चालन हुनेछ।
करिब एक हजार जना प्रतिस्पर्धीको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगितामा खुला तर्फका विजेताले जनही ५०,०००, दोस्रो स्थान प्राप्त गर्नेले ३५,०००, तृतीयले २०,०००, चौथोले रु। १५,००० र पाँचौं स्थान हासिल गर्नेले १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी, कर्पोरेट र भेट्रान वर्गका विजेताले जनही ३०,०००, दोस्रोले २०,०००, तृतीयले १४,०००, चौथोले १०,००० र पाँचौंले ७,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।
बालुवाटारस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुने यस प्रतियोगितामा खुला तर्फका धावकहरू बुढानिलकण्ठ नगरपालिका वडा नं। ३ को कार्यालय पुगेर सोही बाटो हुँदै बालुवाटार फर्किनेछन् भने कर्पोरेट र भेट्रान तर्फका प्रतिस्पर्धी बाँसबारीस्थित न्युरो अस्पताल पुगेर सोही बाटो हुँदै बालुवाटारमा समापन गर्नेछन्।
प्रतियोगितालाई थप व्यवस्थित बनाउन बैंकले खल्ती एपसँग सहकार्य गरेको छ र इच्छुक धावकहरूले कार्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० शुल्क तिरी दर्ता गर्न सक्नेछन्।
थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ। गत वर्षको गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित ६५० जना प्रतिस्पर्धीको सहभागिता रहेकोमा यस वर्ष अझ बढी प्रतिस्पर्धी सहभागी हुने बैंकले विश्वास व्यक्त गरेको छ।








प्रतिक्रिया