२७ असार २०८३, शनिबार

बिहारमा दोस्रो चरणको मतदान सुरु, दिल्ली विस्फोटपछि हाई अलर्ट जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मधुबनीका मतदाता, तस्वीर : भारतीय निर्वाचन आयोग/एक्स

काठमाडौं, २५ कात्तिक । २४३ विधानसभा सिट रहेको भारतको बिहार राज्यमा दोस्रो चरणको मतदान सुरु भएको छ ।

२० जिल्लाका १२२ सिटका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ६ बजेसम्म जारी रहनेछ ।

दोस्रो चरणमा आज पश्चिम चम्पारण, पूर्वी चम्पारण, शिवहर, सीतामढी, मधुबनी, सुपौल, अररिया, किशनगञ्ज, पूर्णिया, कटिहार, भागलपुर, बांका, जमुई, नवादा, गया, जहानाबाद, अरवाल, औरंगाबाद, रोहतास, कैमुर जिल्लाका १२२ विधानसभा सिटका लागि मतदान भइरहेको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, मतदानका लागि ४५३९९ मतदान केन्द्रहरू स्थापना गरिएको छ । जसमा ४१०९ वटा संवेदनशील बुथ छन् ।

आज बिहारका ३.७० करोड मतदाताले मतदान गर्नेछन् । १३०२ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

मतदानलाई ध्यानमा राख्दै भारत–नेपाल सीमामा निगरानी बढाइएको छ र आज राति १२ बजेसम्मका लागि सीमा सिल गरिएको छ ।

यसैबीच, हिजो साँझ दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटपछि बिहारमा पनि हाई अलर्ट जारी गरिएको छ । सबै धार्मिक स्थल, पर्यटकीय स्थल, मतदान केन्द्र र सार्वजनिक स्थलहरूमा विशेष निगरानी राख्न निर्देशन दिइएको छ ।

यसअघि नोभेम्बर ६ मा भएको पहिलो चरणमा ६५.०८ प्रतिशत मतदान भएको थियो ।

मतगणना नोभेम्बर १४ मा हुनेछ ।