
काठमाडौं, २३ कात्तिक । सुडानमा जारी गृहयुद्धको बीच भारत, ओडिशाको जगतसिंहपुरका ३६ वर्षीय आदर्श बेहरालाई र्यापिड सपोर्ट फोर्स (आरएसएफ)समूहले बन्धक बनाएको छ । यो घटना अक्टोबर २६ मा भएको थियो, जब आरएसएफले सुडानको अल–फशेर शहर कब्जा गरेको थियो ।
आदर्शको परिवारले पछिल्लो केही दिनदेखि भारत सरकार र बलिउड सुपरस्टार शाहरुख खानलाई आदर्शको सुरक्षित रिहाइको लागि अपील गरिरहेका छन् ।
आदर्श अपहरण भएपछि उनको एउटा भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा अपहरणकारीले आदर्शलाई शाहरुख खानको बारेमा सोधेका छन् ।
सार्वजनिक भिडियोमा आरएसएफका एकले आदर्शलाई सोध्छन्, ‘के तिमीले शाहरुख खानलाई चिनेका छौ ?’
आदर्शकी श्रीमती सुष्मिताको विश्वास छ कि अपहरणकारीहरू शाहरुख खानका फ्यान हुन सक्छन् । शाहरुखले अपील गरे भने यसले आदर्शको रिहाइमा मद्दत गर्न सक्छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार आदर्श ओडिशाको जगतसिंहपुर जिल्लाको कोटाकाना गाउँका हुन् । उनको परिवारमा उनका आमाबाबु, श्रीमती सुष्मिता र दुई छोरा (८ र ३ वर्ष) छन् ।
आदर्शकी आमा आरतीका अनुसार गरिबीका कारण आदर्शले १० कक्षासम्म मात्र पढेका छन् । मुम्बई र गुजरातको प्लास्टिक कारखानामा काम गर्दा उनले १५–१६ हजार रुपैयाँ मात्र तलब पाउँथे, जसले गर्दा परिवारको खर्च चलाउन गाह्रो हुन्थ्यो । राम्रो भविष्यको लागि आदर्श २०२२ मा सुडानको ‘सुक्रती प्लास्टिक कारखाना’मा मेसिन अपरेटरको रूपमा काम गर्न गए, जहाँ उनलाई ५०–६० हजार भारतीय रुपैयाँ तलबको अफर गरिएको थियो ।
आदर्शका बुबा खेत्रबासीका अनुसार सुरुवाती दिनहरूमा प्रशासनबाट कुनै सहयोग नभएको तर अहिले मुख्यमन्त्री मोहन चरण माझीले सुरक्षित फिर्तीको आश्वासन दिएका छन् ।








प्रतिक्रिया