
काठमाडौं, २२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमाथि भएको हालको आक्रमण, आगजनी र लुटपाटले उद्यमी व्यवसायीको मनोबल कमजोर बनाएको भन्दै राज्यले निजी क्षेत्रको सुरक्षामा कडाइ अपनाउनुपर्ने बताएका छन् ।
महासंघले आज काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० कार्यक्रममा अध्यक्ष ढकालले मुलुक अहिले ‘आशा र संशयको दोबाटो’मा उभिएको उल्लेख गर्दै भने, “युवा पुस्ताको आन्दोलनले भ्रष्टाचारविरुद्ध सशक्त सन्देश दिएको छ, सरकारले सुशासन कायम गर्न प्रयास गरिरहेको छ, तर हरेक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुनु दुर्भाग्यपूर्ण हो ।”
उनका अनुसार निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड हो तर हालका घटनाले उद्यमशीलतामाथि भय उत्पन्न गरेको छ । “उद्यमीको शयनकक्षसम्म लुटपाट भएको छ, यो केवल व्यवसायमाथिको आक्रमण होइन, रोजगारी सिर्जना गर्ने, राजश्व बुझाउने वर्गमाथिको प्रहार हो,” उनले भने ।

ढकालले निजी क्षेत्रलाई ‘राजस्वका मुख्य स्रोत’को रूपमा स्मरण गर्दै आँकडा प्रस्तुत गरे– “नेपालको कुल अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ, ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको छ र आयकरमा योगदान ८० प्रतिशतभन्दा बढी छ ।”
उनले आगजनी र तोडफोडमा संलग्नमाथि कडा कारबाही गर्न आग्रह गर्दै भने, “दण्डहीनता मौलाउन नदिन सरकारले कुनै पनि कसर बाँकी राख्नु हुँदैन ।”
ढकालले प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, मुख्य सचिव, गभर्नर र उच्च सरकारी अधिकारीहरूको उपस्थितिलाई स्वागत गर्दै कार्यक्रममा सहभागी भएका सबैलाई ‘निजी क्षेत्रले सुरक्षित रूपमा व्यवसाय गर्न पाउने वातावरण बनाउन’ अनुरोध गरे ।
पुनर्निर्माण र सहकार्यको आवश्यकता
ढकालले हालैका आन्दोलनका क्रममा भएको भौतिक क्षति करिब ४८ अर्ब रुपैयाँ पुगेको र यसबाट निजी क्षेत्रले करिब ८८ अर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोरेको जानकारी दिए । उनले भने, “अर्थ मन्त्रालयले भन्सार, बीमा र बैंकिङ सुविधा उपलब्ध गराएको छ, तर यसको कार्यान्वयनमा अझ तदारुकता आवश्यक छ ।”

ढकालले आर्थिक पुनर्निर्माण तथा पुनरोत्थानका लागि महासंघले योजना तयार गरिरहेको बताउँदै भने, “अहिले सरकार र निजी क्षेत्रबीचको विश्वास बलियो बनाउन आवश्यक छ । हामी जिम्मेवार रूपमा अगाडि बढ्दैछौँ ।”
सुशासन र लगानी वातावरण सुधारको जोड
सुशासनका लागि निजी क्षेत्रको सहभागितासहित संयन्त्र गठन गर्नुपर्ने उनको मुख्य जोड थियो । उनले भने, “सरकारी निकाय मात्रै बसेर सुशासन सम्भव हुँदैन, त्यसमा निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्छ ।”
त्यस्तै, ढकालले व्यवसाय दर्ता प्रणालीलाई सरल बनाउन माग गर्दै भने, “व्यवसाय दर्ता गर्न ४ देखि ७ ठाउँ धाउनुपर्छ । नागरिक एप वा वडा कार्यालयबाटै दर्ता र कर बुझाउने व्यवस्था हुनुपर्छ ।”
युवा उद्यमशीलता र स्टार्टअपमा जोड
ढकालले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकार र महासंघको सहकार्यमा विशेष कार्यक्रम सुरु गर्न आग्रह गरे । उनले भने, “स्टार्टअप नीति आएको छ, तर यसको प्रभावकारी कार्यान्वयन जरुरी छ । युवालाई परियोजना कर्जा, बजार प्रवर्द्धन र प्रविधि प्रयोगमा सहजीकरण गर्नुपर्छ ।”
पूर्वाधार र लगानीमैत्री नीति आवश्यक
ढकालले निजी र सार्वजनिक दुवै क्षेत्रको सहभागितामा पूर्वाधार विकासको संयन्त्र गठन गर्न आग्रह गरे । “राज्यले स्वीकृति दिएका परियोजनामा कुनै पनि बहानामा अवरोध नहोस्, यसका लागि राज्यको तर्फबाट पूर्ण सुरक्षा प्रत्याभूति चाहिन्छ,” उनले भने ।

उनले सीएनआई, चेम्बर र एनआरएनसहितको सहकार्यमा गठन गरिएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड ९एनडीपी० को स्थापना ‘आन्तरिक पूँजी परिचालनको ऐतिहासिक पहल’ भएको उल्लेख गरे ।
कर र बजार सुधारका सुझाव
ढकालले वर्तमान परिस्थितिमा आयकर र मूल्य अभिवृद्धि कर (भीएटी) दर घटाउन आग्रह गर्दै भने, “कर घटाउँदा सर्वसाधारणको क्रयशक्ति बढ्छ, जसले बजारमा माग पुनःस्थापित गर्छ ।”

उनले अवैध आयात नियन्त्रण, कालोसूची र कर्जा वर्गीकरण प्रणाली संशोधन, निर्यात अनुदान पुनःसञ्चालन, र भारतसँग कर दर स्वचालित समायोजन प्रणालीको आवश्यकता औंल्याए ।
राजनीतिक स्थायित्व र समृद्धिका लागि आग्रह
ढकालले स्थायित्व र समयमै निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दल र युवापुस्तासँग संवाद र सहकार्यको आवश्यकता औंल्याउँदै भने, “दिगो शान्ति र समृद्धिका लागि सबैको प्रयास अहिले अपरिहार्य छ । निजी क्षेत्र पनि यसमा पूर्ण सहकार्य गर्न तयार छ ।”
उनले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “निजी क्षेत्र फल दिने रुख हो, त्यसैले यसलाई मलजल गरी संरक्षण गर्न सके राष्ट्र समृद्ध हुन्छ । प्रधानमन्त्रीज्यूको कार्यकालमा त्यही संरक्षण प्राप्त होस् भन्ने अपेक्षा निजी क्षेत्रको छ ।”








प्रतिक्रिया