२४ असार २०८३, बुधबार

नेकपा एसका नेता कार्यकर्तालाई आफ्नै मूलघर फर्कन एमाले मकवानपुरको आह्वान

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २२ कात्तिक । नेकपा (एमाले) मकवानपुरले विभिन्न समयमा पार्टी छोडेर गएका नेता, कार्यकर्ताहरुलाई आफ्नै मूलघर फर्कन आह्वान गरेको छ ।

शुक्रबार जिल्ला पार्टी उपाध्यक्ष हिदम लामाले अपिल जारी गर्दै भनेका छन् “विद्यमान परिस्थितिमा तपाईंहरुको योगदानको निरन्तरता, राजनैतिक क्रियाशीलता र सुनिश्चित गन्तव्य आफ्नो पुरानो घर नेकपा (एमाले) नै हुन सक्छ भन्ने हाम्रो विश्वास छ ।”

नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह एमाले राष्ट्रिय स्वाधिनताको, विकास र समृद्धिको नेतृत्वकर्ता हो भन्ने कुरा तथ्य र परिणामले पुष्टि गरेको विषयहरुले गर्वबोधको अनुभूति भएको उल्लेख गदै उपाध्यक्ष लामाले भनेका छन्, “भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन र त्यस आन्दोलनमा भएको घुसपैठले मच्चाएको विध्वंसपछिको अवस्थालाई विश्लेषण गर्दा पनि एमालेको पार्टी कार्यालय र एमाले नेतृत्वको निवासलाई प्रहारको निशाना बनाएको देखिन्छ ।” एमालेलाई कमजोर बनाउँदा मात्र नेपालको राष्ट्रिय स्वाधिनताको पक्षलाई धक्का दिन सकिन्छ र समृद्धिका सपनाहरुलाई मुर्छित गर्न सकिन्छ भन्ने देशीविदेशी शक्तिहरुको सोच छर्लङ्ग देखिएको लामाको भनाई छ ।

“यो समय राष्ट्रिय राजनीतिमा नयाँ तरङ्गहरु देखा परेको र दलहरुमा गठन पुनर्गठन र विघटनका श्रृङखलाहरु सुरु भएका छन् ।” लामाले भनेका छन्, “हिजो नेकपा (एमाले)मा आवद्ध भई लामो समय यो पार्टी निर्माणमा रगत पसिना बगाउनु भएका कमरेडहरु मकवानपुरमा पनि पार्टी विभाजनको क्रममा एकीकृत समाजवादीमा आवद्ध हुनु भएको थियो । विद्यमान परिस्थितिमा तपाईंहरुको योगदानको निरन्तरता, राजनैतिक क्रियाशीलता र सुनिश्चित गन्तव्य आफ्नो पुरानो घर नेकपा (एमाले) नै हुनसक्छ भन्ने हाम्रो विश्वास छ । तसर्थ, एकीकृत समाजवादीमा आवद्ध मकवानपुरका सम्पूर्ण कमरेडहरुलाई नेकपा (एमाले) मकवानपुर आफ्नै घर फर्कन हार्दिक आह्वान गर्दछ ।”