१३ असार २०८३, शनिबार

इरानले मेक्सिकोमा इजरायली राजदूतको हत्याको षड्यन्त्र रचेको दाबी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । अमेरिका र इजरायलले इरानले मेक्सिकोमा रहेकी इजरायलकी राजदूत ईनात क्रान्ज नैगरको हत्या गर्ने षड्यन्त्र रचेको दाबी गरेका छन् ।

मेक्सिकोको प्रहरीले अमेरिका र इजरायलका गुप्तचर निकायहरूको सहयोगमा उक्त षड्यन्त्रलाई विफल पारेको एपीले जनाएको छ ।

यो षड्यन्त्र गत वर्षको अन्त्यतिर सुरु भई यस वर्षको मध्यसम्म चलेको बताइएको छ । अमेरिकी अधिकारीहरूले नाम नखुलाउने शर्तमा षड्यन्त्र विफल पारिएको र अहिले कुनै खतरा नरहेको बताएका छन् ।

यद्यपि, उनीहरूले षड्यन्त्रको पत्ता कसरी लाग्यो र यसलाई कसरी रोकियो भन्नेबारे कुनै जानकारी दिएनन् । यस विषयमा इरानको संयुक्त राष्ट्रसंघ मिसनले कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।

इजरायलको विदेश मन्त्रालयले यस सम्पूर्ण घटनाक्रमबारे टिप्पणी गर्दै इरानद्वारा सञ्चालित एक आतंकवादी सञ्जाललाई विफल पार्ने मेक्सिकोको सुरक्षा र कानुन प्रवर्तन एजेन्सीहरूप्रति आभारी रहेको बताएको छ ।

इजरायलका सुरक्षा र गुप्तचर निकायहरूले विश्वभरका एजेन्सीहरूसँग मिलेर इरान र त्यसका सहयोगीहरूबाट इजरायली तथा यहुदी निशानाहरूलाई बचाउन दिनरात काम गरिरहने बताएको छ ।

मेक्सिकोको विदेश मन्त्रालय र सुरक्षा मन्त्रालयले ढिलो गरी संयुक्त वक्तव्य जारी गर्दै इजरायलकी राजदूतविरुद्ध कुनै पनि हमलाको कुनै पनि रिपोर्ट आफूसँग नभएको बताएको छ ।

“विदेश मन्त्रालय सबै मान्यता प्राप्त कूटनीतिक प्रतिनिधिहरूसँग सहज संवाद कायम राख्छ,” वक्तव्यमा थप भनिएको छ, “देशको राष्ट्रिय सार्वभौमिकताको दायराभित्र रहेर सुरक्षा मन्त्रालयले सबै सुरक्षा एजेन्सीहरूसँग सम्मानजनक र समन्वित सहयोगको पुष्टि गर्दछ ।”