
विराटनगर, २१ कात्तिक । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सहकारी ठगी गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् ।
शुक्रबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै नेता अधीकारीले पछिल्लो समयमा सहकारीमा देखिएको विकृतिलाई अन्त्य गरी साना तथा थोरै लगानीका पुँजीहरूको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नेता अधीकारीले भने, ‘यस्तो अवस्थामा सहकारीको रकम दुरुपयोग गर्ने कसैलाई पनि छाडिने छैन, उनीहरुलाई कारबाही गरिन्छ ।’ उनले अहिलेको राजनीतिक निकासका लागि संसद पुनर्स्थापना महत्वपूर्ण भएको बताए ।
संसद् पुनर्स्थापना छोटो समय गरेर त्यसमार्फत संविधान संशोधन गरी बाहिरको मानिसलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गर्ने र त्यसको आधारमा र राजनीतिक दलले स्वीकार गर्ने व्यक्तिको नाममा सहमति गरेर नयाँ सरकार बनाउनुपर्ने उनले धारणा राखे । संविधान र लोकतन्त्रलाई लिकमा ल्याएर अगाडि बढ्नका लागि पनि संसद् पुनर्स्थापना महत्वपूर्ण भएको उनले दाबी गरे ।
यसैगरी, उनले अहिलेको अन्तरिम सरकार केही समयमै ढल्ने टिप्पणी गरे । ‘यस्तै हो भने एक डेढ महिनामै सरकार ढल्छ’ नेता अधीकारीले भने, ‘अहिले देख्नुभएन उनीहरुकै मानिसले मन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्न थालिसके । त्यसैले पनि सरकार लामो जान्छ जस्तो देख्दिन ।’ उनले अहिलेको सरकार तत्कालीन राजा ज्ञानेन्द्रले गरेको चुनाव जस्तो गर्न मात्रै सक्ने खालको भएको बताए ।
‘राजा ज्ञानेन्द्रले पनि सत्ता हातमा लिएर एउटा चुनावको नाटक गरेका थिए, त्यसको केही अर्थ भएन के अहिलेको सरकारले त्यस्तै चुनाव गर्न चाहेको हो ?’ नेता अधिकारीले भने, ‘यो सरकार चुनावका लागि नै होइन, यदि चुनावको लागि हुन्थ्यो भने प्रहरीको मनोबल बढाउने र लुटेका हतियार फिर्ता गर्ने र शान्ति सुव्यवस्था कायम गर्नेतर्फ लाग्थ्यो । तर सरकारले त्यसो गर्न सकेको छैन त्यसो हुनाले यो सरकारले चुनावै गराउन सक्दैन ।’








प्रतिक्रिया