२६ असार २०८३, शुक्रबार

लक्ष्मी सनराइज क्यापिटलको ७.७२ करोड नगद लाभांश पारित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १५ औं वार्षिक साधारणसभा शुक्रबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न भएको छ ।

वार्षिक साधारणसभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पारित भएको छ । साधारणसभाले आ.व. २०८२/०८३ को लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखा परीक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षक एनबिएस एम एण्ड एशोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरेको छ । साथै, साधारणसभाले आषाढ मसान्त २०८२ को वासलात बमोजिम प्रतिशेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् ७.७२ करोड रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशनसम्बन्धी मर्चेण्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी कार्यको सुरुवात गरी तीन दशकभन्दा अधिक समयदेखि नेपालको धितोपत्र बजारको विकासमा कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

कम्पनीले करिब ६ अर्ब बराबरको ५ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेकोमा छ वटै म्युचुअल फण्डले आ.व. २०८१/०८२ को मुनाफाबाट दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएको छ । साथै, विशिष्टीकृत लगानी कोषअन्तर्गत एक अर्ब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले दिगो उर्जाका क्षेत्रहरुमा लगानी गर्ने उद्देश्य राखेको छ ।

लक्ष्मी सनराइज क्यापिटल अपरेटिङ प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्टमा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था हो । यो एक विश्वव्यापी संस्था हो, जसको सिद्धान्तले सामाजिक र वातावरणीय प्रभावसहितको लगानीलाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य राख्ने कम्पनीले जनाएको छ ।