काठमाडौं, २१ कात्तिक । सुदूरपश्चिम प्रदेशमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर सुरु भएको छ ।
सुदूरपश्चिम रोयल्सले कैलालीको टीकापुर पार्कस्थित महेन्द्र आरोग्य गृहको प्राङ्गणबाट ट्रफी टुरको शुभारम्भ गरेको हो । उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुको पनि उपस्थिति रहेको थियो ।
ट्रफी टुर कार्यक्रमको शुभारम्भ कार्यक्रममा क्यानका अध्यक्ष चन्दले नेपाली क्रिकेटको उचाइमा सुदूरपश्चिमको महत्त्वपूर्ण योगदान रहेको बताए ।
सुदूरपश्चिम रोयल्स प्रा.लि.का अध्यक्ष स्वतन्त्रप्रताप शाहले ऐतिहासिकस्थलबाट ट्रफी टुरको शुभारम्भ गर्न पाउँदा गौरवको अनुभूति भइरहेको बताए ।
उनले टीकापुर नगरपालिकाले क्रिकेट मैदान निर्माणका लागि पहल गरे आवश्यक सहयोग गर्न तयार रहेको बताए । शाहले एनपीएल सिजन– २ को विजेता बनेर सुदूरपश्चिम रोयल्सको विजय यात्रासमेत टीकापुरबाटै सुरु गर्ने सोच रहेको बताए । सुदूरपश्चिम रोयल्स एनपीएल सिजन– १ को उपविजेता हो ।
दुई दिनसम्म जारी रहने ट्रफी टुर आज कैलालीका विभिन्न क्षेत्रको भ्रमणपछि कञ्चनपुर पुग्नेछ । भोलि कञ्चनपुरबाट सुरु भएको ट्रफी टुर कैलालीको धनगढी पुगेर समापन हुने बताइएको छ ।








प्रतिक्रिया